नेपालगन्ज २६ असार : अघिल्लो साता दर्जनौं मुस्लिम महिलाहरू ‘अनलाइनमा बेच्न’ राखिएका थिए । त्यो लिस्टमा एकजना व्यावसायिक पाइलट पनि थिइन्, हाना खान । उनी एक व्यावसायिक एयरलाइन्सकी पाइलट हुन् ।
उनलाई एकजना साथीले ट्विटमार्फत त्यो सूचना दिएकी थिइन् । केही दिनदेखि धेरैजसो भारतीय मुस्लिम महिलालाई ‘टार्गेट’ गर्दै सुरु गरिएको ‘सुल्ली डिल’ भन्ने मोबाइल एप र वेभसाइटमा कैयौँ महिलाहरूका फोटोहरू अपलोड गरिएका छन् र ‘डिल अफ द डे’ भनेर लिलामका लागि राखिएका छन् ।
गत सातादेखि भारतमा यो इन्टरनेट अपराध निकै चर्चामा आएको छ । यसमा मुस्लिम महिलाका तस्विरहरू उनीहरूको सामाजिक सञ्जालबाट बिनाअनुमति राखिएको छ । र, त्यसमा ती महिलाको बारेमा विभिन्नथरि कुराहरू लेखेर बिक्रिका लागि भनेर लेखिएको छ ।
‘मैले त्यहाँ ८३ जना महिलाको नाम गनेको थिएँ । त्यहाँ अरू पनि थिए’ खानले भनिन् ‘उनीहरूले मेरो ट्विटर एकाउण्टबाट फोटो लिएका थिए । यो एप २० दिनदेखि चलिरहेको छ । यसका बारेमा हामीलाई केही पनि थाहा छैन । यसले मेरो मथिङ्गल नै हल्लाइदिएको छ ।’
‘सुल्ली’ मुस्लिम महिलामाथि प्रयोग गरिँदै आएको अश्लिल शब्द हो ।
खासगरी यो शब्दलाई हिन्दुहरूले मुस्लिम समुदायका महिलालाई टार्गेट गरेर ‘ट्रोल’ बनाएका थिए । खानका अनुसार उनीहरूले अहिले मुस्लिम महिलालाई टार्गेट गर्नका लागि विभिन्न हत्कण्डाहरू अपनाइरहेका छन् ।
‘म पनि एक मुस्लिम महिला हुँ । मैले आफ्नै आँखाले देखेँ र आफ्नै कानले सुनेँ’ उनले भनिन् ‘उनीहरू चाहन्छन् कि हामी चुप रहौं ।’
केही दिनअघि २ सयभन्दा धेरै चर्चित कलाकार, संगीतकर्मी, पत्रकार तथा सरकारी अधिकारीहरूले समेत फेसबुक, गुगल, टिकटक, ट्विटरजस्ता सामाजिक सञ्जालहरूलाई ‘महिला सुरक्षालाई प्राथमिकता दिन’ अनुरोध गर्दै खुल्ला पत्र लेखेका थिए ।
यो एप कसले चलाई रहेको छ भन्ने कुरा अझै केही पत्ता लागेको छैन । प्रहरी यसको खोज तलासमा जुटिरहेको छ । तर, पनि कुनै सफलता हात लागेको छैन ।
यसले आम महिलालाई ‘अपमान’ र ‘हिंसा’ गरेको भन्दै अहिले भारतमा विरोध चर्किएको छ । -आयोमेलबाट