File Photo
कञ्चनपुर २८ असार : कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रमा वर्षाका कारण डुबानमा परेका परिवारका घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा र अन्य महत्वपूर्ण सामान क्षति हुनबाट सशस्त्र प्रहरीले जोगाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार भीमदत्त–९ खल्ला, वडा नं १० भुजेला, वडा नम्बर ५ बनखेत र दोधारा चाँदनी नगरपालिका–३ जमुनाघारीका गरी ३९ परिवारको घर डुबानमा परेको हो ।
वर्षाका कारण नदी तथा खोलाको बहाव बढेसँगै पानी घरभित्र पसेपछि खाद्यान्न, लत्ताकपडा र महत्वपूर्ण सामान सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए । धनजनको क्षति हुन नदिनका लागि डुबानमा परेका परिवारलाई समेत सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ ।
यसैबीच सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कुतिकभरको भवनलाई जोगबुढा नदीको बाढीको पानीले डुबानमा पारेपछि नजिकैको हरिओम आधारभूत विद्यालयमा सशस्त्र प्रहरीलाई सारिएको छ ।
रातिदेखिको लगातारको वर्षाका कारण महेन्द्रनगर बजार क्षेत्रका अधिकांश घर डुबानमा परेका थिए । अहिले वर्षा हुने क्रम रोकिएसँगै डुबान क्षेत्रबाट पानी घट्ने क्रम जारी रहेको छ । वर्षाका कारण महेन्द्रनगर बजारसहित ऐठपुर, बसपार्क र सब्जीमण्डी क्षेत्र डुबानमा परेको थियो ।
महेन्द्रनगर बजारमा ढल व्यवस्थापनको कार्य नगरिँदा थोरै पानी पर्दासमेत बजार क्षेत्र डुबानमा पर्ने गरेको छ । स्थानीयवासीले खोला मिचेर घरलगायतका भौतिक संरचना निर्माण गर्ने क्रम बढ्दोरुपमा हुन थालेपछि पानी बग्ने निकास रोकिँदा डुबान हुने गरेको स्थानीयवासीको भनाइ रहेको छ ।
यसैबीच भीमदत्त–५ मा रहेको वृद्ध सेवा केन्द्रमा नजिकैको नालाको पानी भरिँदा लाखौँको नोक्सानी भएको छ । वृद्धाश्रमका सञ्चालिका शारदा चन्दका अनुसार भण्डारण गरेर राखिएको खाद्यान्नमा पानी पस्दा भिजेर कामै नलाग्ने भएको छ । वृद्धाश्रममा पालिएका ५०० कुखुराका चल्लासमेत पानीमा डुबेर मरेका छन् । -रासस
नेपालगञ्जबाट सुरु भयाे बुद्ध एयरकाे 'नयाँ उडान'
मैले कहाँ बसेर काम गरेको छु भनेर चिन्ता लिनुपर्दैन, परिणाम हेर्नूस्: गृहमन्त्री
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने