पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध


पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

मान्म ६ साउन : मङ्गलबार राति परेको अबिरल वर्षाका कारण कालीकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर बिकले बताए ।

‘अबिरल वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ’, उनले भने,‘सडक डिभिजन कार्यालयको पहलमा अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।’

पहिरोका कारण यात्रुहरू अलपत्र पर्नाका साथै यातायातका साधन र मालवाहक सामान बोकेका ट्रकहरू बिच बाटोमै रोकिएको यातायात व्यवसायी किशोर विष्टले जानकारी दिए ।

अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘पहिरो पन्छाउने काम भइरहेको छ,’ उनले भने,‘आज बेलुकासम्ममा राजमार्ग खुला हुन्छ ।’

Kanti Aarogya Hospital Nepalgunj

त्यस्तै, अबिरल वर्षाका कारणले कर्णाली करिडोर अन्तर्गतको सान्नी त्रिवेणी गाउँपालिका–१ को रेगिलमा ठूलो पहिरो गएकोे छ । पहिरोका कारण कर्णाली करिडोर पनि अवरुद्ध रहेको सान्नी त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष भरत बिकले बताए । ‘उक्त करिडोरमा पानी पर्नासाथ पहिरो जाने र राजमार्ग बन्द हुने गरेको छ’, उनले भने । -रासस