‘भारतीय पत्रकार’को आईडी बोकी नेपालगन्जमा लागुऔषध तस्करी


‘भारतीय पत्रकार’को आईडी बोकी नेपालगन्जमा लागुऔषध तस्करी

नेपालगन्ज ९ साउन : भारतीय पत्रकारको आईडी बोकी नेपालमा लागुऔषध तस्करी हुने गरेको तथ्य बाहिरिएकोछ ।

बाँके प्रहरीले ४३ ग्राम ब्राउनसुगरसहित शुक्रबार नेपालगन्जबाट ३ जनालाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिरिएको हो । पक्राउ पर्नेमा २ भारतीय र एक नेपाली नागरिक छन् । जसमध्ये एकजनाका साथबाट ‘दिल्ली क्राइम नेशनल न्यूज पेपर’को प्रेस कार्ड समेत बरामद भएकोछ ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–१२ कोरियनपुर स्थित दिव्या खड्काको घरमा भाडा लिई बस्ने मुस्तकिम सिद्दिकीले लागु औषध ब्राउन सुगरको खरिदबिक्री गर्दैछन् भन्ने सूचना पाएको प्रहरीले शुक्रबार बेलुका अन्दाजी ८ बजे छापा हानेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँके, नेपालगन्ज वडा प्रहरी कार्यालय र लागु औषध नियन्त्रण व्यूरो नेपालगन्जको संयुक्त प्रहरी टोलीले छापा हान्दा भारत उत्तरप्रदेश, लखनउ जिल्ला बस्ने २८ वर्षियद्वय मुस्तकिम सिद्दिकी र मोहम्मद सलमान खान तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–११, टाँगास्टेशन बस्ने २२ वर्षका आजाद कबडिया ४३ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

यसरी पक्राउ पर्ने भारत उत्तरप्रदेश, लखनउ बस्ने २८ वर्षिय मोहम्मद सलमान खानको साथबाट ‘दिल्ली क्राइम नेशनल न्यूज पेपर’को प्रेस कार्ड बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक मधुुसुदन न्यौपानेले जानकारी दिए ।

प्रहरी प्रवक्ता न्यौपानेका अनुसार पक्राउ पर्ने भारतीय नागरिकद्वय सिद्दीकी र खानले नेपालगन्जमा कोठा भाडामा लिएर विगत लामो समयदेखि लागुऔषधको कारोबार गरिरहेका थिए ।

सेतोखरीसंग कुरा गर्दै प्रहरी प्रवक्ता न्यौपानेले भने–‘लागुऔषधसहित पक्राउ परेका तीनैजना नेपालगन्जका सुन पसलमा काम गर्ने खुल्न आएकोछ । यद्यपी सुन पसलमा काम गरेपनि विगत ७/८ वर्षदेखि लागुऔषधको कारोबार गरिरहेको बुझिएकोछ ।’

उनले भने –‘पक्राउ पर्ने भारतीय नागरिकबाट बरामद भएको ‘दिल्ली क्राइम नेशनल न्यूज पेपर’को प्रेस कार्डको कनेक्सन सुक्ष्मरुपमा अनुसन्धान गरिरहेकाछौं । भारतबाट लागुऔषध नेपाल तस्करी गर्नकै लागि नक्कली प्रेस कार्ड बनाएको हो की ? भन्ने लागेको छ यद्यपी यसमा अनुसन्धान भइरहेकोछ ।’

‘नेपालगन्जमा कोठा भाडा लिएर भारतीय पत्रकारको आईडी बोकी लागुऔषध नेपाल भित्र्याउने काम उनीहरुले गरेको देखिन्छ । पत्रकारको आईडी देखाए सीमामा चेकजाँचमा समेत नपरिने र सहजै लागुऔषध नेपाल भित्र्याउने गरेको अनुसन्धानले देखाएकोछ ।’ प्रहरी प्रवक्ता न्यौपानेले भने–‘प्रारम्भिक अनुसन्धानमा केही कुरा खुलेकाले सबै कुरा यसै भन्न सकिन्न । उनीहरुमाथि अनुसन्धान भइरहेकोछ । थप कुरा अनुसन्धानबाट आउँछ ।’

भारतीय प्रेस कार्डसहित पक्राउ पर्ने खानले भारतबाट थोरै–थोरै मात्रामा पटक–पटक ब्राउनसुगर लिएर भाडामा लिएको कोठामा राख्ने र आफूले काम गर्ने सुन पसल र सो आसपासका पसलमा काम गर्ने युवामार्फत लागुऔषध विक्री गर्दै आएको अनुसन्धानमा रहेका एक प्रहरीले बताए ।

प्रहरीले उनीहरुको कोठाबाट डिजिटल तराजु ३ थान विभिन्न ब्राण्डका मोबाईलसमेत बरामद गरेको छ । यसले पनि पक्राउ परेका भारतीय नागरिकले नेपालगन्जमै रहेर ठूलोमात्रामा लागुऔषधको कारोबार गरिरहेका थिए ।

बाँके प्रहरीले गत असार १३ गतेदेखि शनिबारसम्म ९४ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगर, २ लिटर ६ सय मिलिलिटर कोरेक्स, ३ सय ३० नाईट्रोभ्याट ट्याब्लेटसहित १९ जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए ।