दुई वडाध्यक्षसहित जुवाको खालबाट १५ जना पक्राउ


दुई वडाध्यक्षसहित जुवाको खालबाट १५ जना पक्राउ

सिमकोट १४ साउन : हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ ।

नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकीनजिकै रहेको एक होटेल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो ।

तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट १९ जनालाई नगदसहित पक्राउ गरेको एक सातामै जिल्लाको अदानचुलीबाट सो संख्यामा तास खेल्नेलाई पक्राउ गरिएको हो ।

नियमित रूपमा खेल्ने गरेको सूचनासँगै नियमित गस्ती गएको अवस्थामा श्रीनगरका वर्ष रोकायाको पसलको माथिल्लो तलामा रहेको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको श्रीनगर प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बुढाले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार गाउँपालिकाका जिम्मेवार व्यक्ति नै जुवा खेलिरहेको अवस्थामा फेला परेका हुन् । दुई वडाध्यक्ष, एक शिक्षक, दुई ठेकेदार, एक मानव अधिकारकर्मी र अन्य सर्वसाधारण गरी १५ जनाको टोलीलाई जुवाकै खालबाट पक्राउ गरिएको हो ।

उनीहरुलाई केही समय नियन्त्रणमा लिएको भए पनि प्रहरीले सोधपुछ गरी अबका दिनमा यस्तो कार्य नगर्ने कागजसहित जरिवाना तिरेपछि घर पठाएको छ ।

पक्राउ परेका दुई वडाध्यक्षलाई अबदेखि तास नखेल्ने र नखेलाउने कागजसहित अदानचुली–३ का जनकबहादुर विष्टको जिम्मा लगाइएको छ । बरामद गरिएका तासलाई प्रहरीको टोलीले जलाएको छ । -रासस