पैसाको बार्गेनिङ्ग गर्ने आशिष मल्लसहित दुई पक्राउ

आचारसंहिताको पालना गर्न महासंघ बाँकेको विशेष अपील


पैसाको बार्गेनिङ्ग गर्ने आशिष मल्लसहित दुई पक्राउ

नेपालगन्ज १५ साउन : नेपाल पत्रकार महासंघ बाँकेले आचारसंहित भित्र रहेर कार्य गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेकोछ । पत्रकार आचारसंहिताको पालना गर्न पटक–पटक अनुरोध गर्दै आइरहेको महासंघ बाँकेले पत्रकार हौं भन्दै पैसाको बार्गेनिङ्ग गरेको अभियोगमा आशिष मल्ल ठकुरीसहित २ जनालाई बाँके प्रहरीले पक्राउ गरेपछि यस्तो अपील गरेको हो ।

पक्राउ पर्नेमा एबीपी क्राईम न्यूजको सञ्चालक तथा पत्रकार बताउने आशिष मल्ल ठकुरी र सोही अनलाईनको संवाद्दाताको कार्ड राखेका राजन बैश्यलाई बाँके प्रहरीले रकम बार्गेनिङ्गमा संलग्न पाएपछि पक्राउ गरेको हो ।

नेपाल पत्रकार महासंघ बाँकेले शुक्रबार प्रेस विज्ञप्ती प्रकाशित गरि पत्रकार हौं भन्दै भन्सार, सीमानाकाहरुमा जाने, मोबाइल क्यामेरा तेर्साउने, राती बिभिन्न सीमा क्षेत्रमा चेकजाँच गर्न जाने र पैसाको बार्गेनिङ्ग गर्ने तर, समाचार नलेख्ने जस्ता कार्य गरेको भनी महासंघ बाँकेमा जनगुनासाहरु धेरै आएकाले त्यस्तो नगर्न र पत्रकार आचारसंहिता भित्र रहेर समाचार संकलन एवं प्रकाशन, प्रशारण गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्जमा कार्यालय रहेको एबिपी क्राईम न्यूज नामक अनलाईन मिडियामा कार्यरत पत्रकार हौं भन्दै प्रहरीसंग पैसाको बार्गेनिङ्ग गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।

नेपाल पत्रकार महासंघ बाँकेले शुक्रबार प्रेस विज्ञप्ती प्रकाशित गरि एबिपी क्राईम न्यूजको सम्बाद्दाताको परिचयपत्र राखेका राजन बैश्यले प्रहरीसंग ‘तपाईले पैसा लिइरहेको भिडियो मसंग छ’ भन्दै होटलमा बोलाएर एक लाख ६० हजार मागेपछि प्रहरीले बैश्य र मल्ललाई पक्राउ गरेको जनाएकोछ ।

महासंघ बाँकेको विज्ञप्तीमा लेखिएको छ–‘एबिपी क्राईम न्यूज अनलाईनको आफुलाई सञ्चालक र पत्रकार बताउने मल्ल र राजन बैश्यलाई हिजो बिहीबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ । बैश्यले सबैका सामु प्रहरीसंग क्यामेरा किन्नलाई १ लाख ६० हजार मागेको स्वीकारेका छन् ।’

नेपाल पत्रकार महासंघ बाँकेले पत्रकार आचारसंहिता भित्र रहेर कार्य गर्न सम्पूर्ण पत्रकारहरुलाई अपील गरेकोछ । ‘आचारसंहिता भित्र रहेर समाचार लेखेकै कारण पत्रकारमाथि जुनसुकै पक्षबाट आउने धम्की, आक्रमणका बिरुद्ध महासंघ सशक्तरुपमा अगाडी सर्दै आएको छ ।

पत्रकारको पेशागत एवं भौतिक सुरक्षाप्रति पत्रकार महासंघ बाँके सदैव गम्भीर छ ।’–विज्ञप्तीमा अगाडी लेखिएकोछ ‘तर, पत्रकारिता पेशाको नाम जोडेर अपराधजन्य क्रियाकलापमा संलग्न हुने, रकमको बार्गेनिङ्ग गर्ने, भिडियो र फोटो खिचेर समाचारका रुपमा प्रकाशन, प्रशारण नगरी ब्ल्याकमेल गर्ने जस्ता कार्यमा संलग्न भएको पाइएमा महासंघले वकालत गर्ने छैन । गल्तीको सजायको भागिदार स्वयम बन्नुपर्ने छ ।’

विज्ञप्तीमा पत्रकार हौं भन्दै धम्काउने, पैसाको बार्गेनिङ्ग गर्ने जस्ता कार्यले वास्तविक पत्रकारको पेशागत एवं भौतिक सुरक्षामा समेत असर पर्ने र पेशा नै बद्नाम हुने भएकाले त्यसलाई रोक्न अत्यावश्यक भइसकेकाले यस्ता कार्य नगर्न महासंघले अनुरोध गरेकोछ । उक्त कार्य कहीकतैबाट कसैले गरेमा महासंघ बाँकेमा खबर गर्न पनि सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।