नेपालगन्ज १७ साउनः मानव बेचबिखन नियन्त्रणका लागि नेपालगन्ज उप–महानगरपालिकाका सबै वडासम्म संयन्त्र निर्माण गरिने भएको छ ।
मानव बेचबिखन नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन स्थानीय मानव बेचबिखन नियन्त्रण समितिसँगको बार्षिक समीक्षा र योजना बैठक आईतबारदेखि नेपालगन्जमा शुरु भएको छ ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले सम्पूर्ण वडा तहसम्म समिति गठन गरेर अघि बढ्ने योजना रहेको बताए ।
उनले विगतको कामको समीक्षा गर्दै भावी कार्ययोजना बनाइने जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहले मानव बेचबिखन नियन्त्रणका लागि टोलस्तरसम्म प्रभावकारी संयन्त्र निर्माण गरि अघि बढ्न खोजिएको बताइन ।
नेपालगन्ज उपमहानगरपालिका मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिको आयोजनामा भएको कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, वडा सचिव तथा मानव बेचबिखन नियन्त्रणको अभियानमा सहभागी संघ संस्थाका प्रतिनिधीको सहभागिता रहेको छ ।
सामाजिक विकास समितिका संयोजक वशन्ता जोशीको अध्यक्षतामा भएको कार्यक्रममा माईती नेपालका केशव कोइराला, अधिकारकर्मी कमला पन्त, महिला विकास अधिकृत मञ्जु पाण्डे लगायतले विभिन्न विषयमा सहजिकरण गरेका थिए । मानव बेचबिखन नियन्त्रणलाई प्रभावकारी बनाउन मुलुककै पहिलोपटक नेपालगन्जले कार्यविधि बनाएको छ । कार्यविध अनुसार समिति गठन लगायतका काम भईरहेको छ ।