तस्विर : रासस
काठमाडौं ३ भदौ : पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा एक्कासि बालुवासहित पानीको फोहोरा निस्केको छ ।
बुधबार कपन शिवमन्दिर नजिक भुलक–भुलक गर्दै चारतले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी चकित परेका छन् । फोहोरा जारी रहेपछि उनीहरुले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए ।
सूचनापश्चात् घटनास्थल निरीक्षणमा आइपुगेका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले फोहोरामा मिथेन ग्यास मिसिएको बताए । ‘काठमाडौँ उपत्यकाको जमिनमुनि मिथेन ग्यास रहेको छ र यसअघि कालीमाटी, टेकु, धुम्बाराहीमा पनि यसरी मिथेन ग्यास निस्किएको थियो’, श्रेष्ठले भने ।
त्रसित स्थानीयको प्रतिक्रियामा उनले ग्यासलाई बन्द गर्न नहुने र सतर्कताका लागि भने वरिपरि ग्यास, आगो, लाइटरजस्ता कुरा बाल्न नहुने बताए । कति सययसम्म यो जारी रहन्छ भन्ने प्रश्न गर्दा, भूगर्भविद् श्रेष्ठले यो प्राकृतिक घटना कतिसम्म जारी रहन्छ भन्ने आँकलन गर्न नसकिने जनाए ।
घर नजिकै यस्तो अनौठो घटना भएको देख्दा स्थानीय बद्री ढकालले आफूलाई कतै जमिन नै भासिने पो हो कि भने डर लागेको बताए ।
‘सुरुमा लेदो निस्किए पनि अहिले ग्यास गन्हाएको र पानीसहित बालुवा फोहोरा भएर भुल्किरहेको छ’, उनले भने। करिब एक सय ५० फिट गहिरो खन्दा यस्तो घटना भएको उनको भनाइ छ ।
फोहोराका कारण नजिकैको घर हिलाम्मे भएको छ । अनौठो फोहोरा हेर्न मानिसको भीड बढ्दै गएपछि प्रहरीले भीडभाड नगर्न माइकिङ गरेको थियो ।
कपन प्रहरी चौकी प्रमुख प्रहरी निरीक्षक भगवती तिमिल्सिनाले भूगर्भविद्को सल्लाहअनुसार घटनाको दुई सय मिटर वरपर घरमा ग्यास, लाइटर नबाल्न सचेत गराइएको बताइन् ।
कपन पञ्चकुमारीदेखि शिवमन्दिर जाने बाटोमा ट्राफिक डाइभर्सन गराइने उनले बताइन् । -रासस
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो