अविरल वर्षा : लुम्बिनी प्रदेशका ८ स्थानमा सडक अबरुद्ध


अविरल वर्षा : लुम्बिनी प्रदेशका ८ स्थानमा सडक अबरुद्ध

रुपन्देहीको देवदह नगरपालिका–९ स्थित घोडाहा खोलामा पुल भासिदा पूर्व–पश्चिम राजमार्ग अबरुद्ध भएको छ ।

नेपालगन्ज ११ भदौ : अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका ८ स्थानमा सडक अबरुद्ध भएको छ । दुई दिनदेखि परेको पानीका कारण पुल भासिँदा, पहिरो जाँदा, बाढी आउँदा र कल्भर्ट बगाउँदा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका कम्तीमा आठ स्थानमा सडक अबरुद्ध भएको हो ।

लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार रुपन्देही, नवलपरासी, अर्घाखाँची, बर्दिया, गुल्मी र पाल्पाका विभिन्न स्थानमा सडक अवरुद्ध भएका हुन् । ट्राफिक कार्यालयका सूचना अधिकारी डिल्ली नारायण पाण्डेयका अनुसार अर्घाखाँचीको सदरमुकाम जोड्ने गोरुसिंगे–सन्धिखर्क सडक पहिरो खसेका कारण अबरुद्व भएको छ ।

यस्तै नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका– १० लण्डनबृजस्थित पूर्व–पश्चिम राजमार्ग सडक खण्ड र सुनवल नगरपालिका–१२ बडेराको ड्राइभर्सन बगाएपछि बाटो पूर्ण रुपमा अबरुद्ध भएको छ ।
यसैगरि रुपन्देहीको देवदह नगरपालिका–९ स्थित घोडाहा खोलामा पुल भासिदा पूर्व–पश्चिम राजमार्ग अबरुद्ध भएको छ ।

पुल भासिएपछि पूर्व–पश्चिम राजमार्गमा यातायात सेवा अबरुद्ध भएको छ । पुल भासिएसँगै उक्त सडकखण्ड हुँदै आवत–जावत गर्ने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन् । ट्राफिक प्रहरीका अनुसार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका– १० लण्डनब्रिजस्थित पूर्वपश्चिम राजमार्गको सडकखण्ड बासा, भुताहा र सुनवल नगरपालिका–१२ बडेरास्थित रहेको ड्राइभर्सन पनि बाढीले बगाएको छ ।
यस्तै अर्घाखाँचीको शितगंगा नगरपालिका– १२ बसेरीस्थित गोरुसिंगे–सन्धिखर्क सडकखण्ड पनि पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरि पाल्पाको रम्भा गाउँपालिका–३ सितापहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । भने यता बर्दियाको बाँसगढी नगरपालिका–१ बबइस्थित कोहलपुर–सुर्खेत राजमार्ग सडक खण्ड पनि अबरुद्ध भएको छ । गुल्मीको रुरु गाउँपालिका–२ पोखरीबगरमा पहिरो खस्दा रिडी–रुद्रबेनी सडकखण्ड अबरुद्ध भएको छ ।

अविरल वर्षाका कारण रुपन्देहीको तिलोत्तमाको मणिग्राम, शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगाएतका ठाउँ डुवानमा परेको छ । त्यस्तै निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटिय क्षेत्र पनि डुवानमा परेको छ ।

वर्षातका कारण तिनाउ, कपिलवस्तु, वाणगंगा नदी आसपासको क्षेत्र पनि जोखिममा परेको छ भन्दै सतर्क रहन प्रहरी र स्थानीय तहले अपील गरेका छन् ।

यता अविरल वर्षाका कारण नेपालगन्ज, कोहलपुर र राप्ती नदी तटिय क्षेत्र जलमग्न हुनुका साथै डुवानमा परेका छन् । राप्तीसोनारी गाउँपालिकाका केही स्थानमा समेत वर्षाका कारण घर भत्किएको खबर आएको बाँके प्रहरीले जनाएकोछ ।