File Photo
नेपालगन्ज ११ भदौ : अविरल वर्षाका कारण बाँकेको नेपालगन्ज आसपासको क्षेत्र जलमग्न भएको छ ।
गएरातीदेखि निरन्तर परिरहेको वर्षाले नेपालगन्ज उपमहानगरपालिका क्षेत्र अन्तर्गत न्यूरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायत स्थानमा पानी जमेर जलमग्न भएको जिल्ला विपत् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार नेपालगन्जमा २० मिलिमिटर वर्षा भएको छ । ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगन्जमा सामान्य वर्षातमा पनि डुबान हुने गरेको छ । पानी जमेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ ।
निरन्तरको वर्षातले सहरका विभिन्न स्थान डुबानमा भएकाले थप जोखिम हुन नदिन उपमहानगरपालिकाले सरसफाइ शाखाका कर्मचारीलाई परिचालन गरेको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए ।
यस्तै निरन्तरको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिले उक्त क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह तीन मिटर पुगेको जिल्ला विपत् व्यवस्थापन समितिका सूचना अधिकृत ज्ञवालीले जानकारी दिए । कुसुममा साढे पाँच मिटर सतह पुग्नेबित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुब्छन् ।
भारतले अन्तर्राष्ट्रिय नियमविपरीत लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि बर्सेनि गाउँ डुब्ने गर्छन् । वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्धार कार्यमा तयारी अवस्थामा रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।
यसैबीच, बाँकेको राप्तीसोनारी, नरैनापुर, डुडुवा र खजुरा गाउँपालिकाका विभिन्न स्थानमा डुवान भएकाछन् । यी क्षेत्रमा केही घर भत्किनुका साथै घरभित्र पानि पसेको बाँके प्रहरीले जानकारी दिएकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार हालसम्म बाँकेमा डुवान र बढीका कारण मानवीय क्षती नभए जानकारी प्राप्त भएपनि यसका लागि तयारी अवस्थामा रहन सुरक्षाकर्मी लगायत सबैलाई निर्देशन दिइसकेको जनाएकोछ ।