बेपत्ता पारिएका ब्यक्तिको अवस्था सार्वजनिक गर्न माग


बेपत्ता पारिएका ब्यक्तिको अवस्था सार्वजनिक गर्न माग

नेपालगन्ज १३ भदौ : बलपुर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न माग गरिएकोछ ।

बाँकेका मानवअधिकारकर्मीले आईतबार एक विज्ञप्ती जारी गर्दै बलपूर्वक बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक गरि न्यायको सुनिश्चता गर्न माग गरेका हुन् ।

बेपत्ता पारिएका व्यक्तिहरुको सम्झना गर्ने र उनीहरुको न्यायको पक्षमा वकालत गर्ने उद्देश्यका साथ भोली सोमबार बेपत्ता पार्ने कार्य बिरुद्धको अन्तराष्ट्रिय दिवस मनाइदँैछ ।

हरेक वर्ष अगष्ट ३० तारिखका दिन यो दिवस विश्वभर मनाइदै आइएकोछ । दिवसको पुर्वसन्ध्यामा बाँकेमा कृयाशिल संघसंस्था, मानवअधिकारकर्मी लगायतले पीडितलाई न्यायको प्रत्याभूति दिलाउन यस्तो माग गर्दै विज्ञप्ती जारी गरेका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

उक्त विज्ञप्तीमार्फत बलपुर्वक बेपत्ता पारिएकाहरुको अवस्था तुरुन्त सार्वजनीक गर्न, पीडितको सत्य, न्याय र परीपूरणको अधिकार सुनिश्चत गरियोस्, अपराधमा संलग्नलाई कानूनको दायरामा ल्याइयोस् लगायतका १३ बुँदे माग राखिएकोछ ।

यसका साथै बेपत्ता पार्ने कार्य बिरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि अनुमोदन गर्न, बेपत्ता पीडितका परिवारलाई भत्ताको व्यवस्था गर्न, बेपत्ता व्यक्तिको नाममा रहेको सम्पती हस्तान्तरणको कानूनी व्यवस्था गर्न, संक्रमणकालिन न्याय प्रक्रियामा राजनीतिक हस्तक्षेप बन्द गर्न र पीडितहरुको यकीन तथ्यांक संकलन गरि उनीहरु लक्षित कार्यक्रम सञ्चालन गर्न समेत माग गरिएको छ ।

विज्ञप्तीमा नेपाल बार एशोसियशनका बरीष्ठ उपाध्यक्ष अधिवक्ता सुनिल कुमार श्रेष्ठ, नेपालगन्ज उच्च बारका सचिव पदम पाण्डे, न्यायका लागि द्वन्द्वपीडित समाज बाँकेका अध्यक्ष चन्द्रकला उप्रती, एडभोकेसी फोरमका वसन्त गौतम, इन्सेक नेपालगन्जका भोला महत लगायतले हस्ताक्षर गरेका छन् ।