गाभरमा मान्छे खाने पाटेबाघ भेटियो


गाभरमा मान्छे खाने पाटेबाघ भेटियो

File Photo

नेपालगन्ज २८ भदौ : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ कुसुमस्थित गाभरमा मान्छे खाने पाटेबाघ फेला परेको छ । पूर्वपश्चिम राजमार्गको गाभरस्थित भट्टीखोलाको भित्र निकुञ्जमा २ वटा बाघ फेला परेका हुन् । सोही ठाउँमा आईतबार बेलुकी स्थानीय एक ब्यक्तिलाई बाघले झम्टेको थियो । स्थानीय भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका पुरुषलाई बाघले खाएको थियो ।

आईतबार बेलुकीदेखि एक्कासी हराएका उनको खोजी गर्दा सोमबार बिहान आधा शरीर खाएको अवस्थामा शव भेटिएको थियो । मृतकको खुट्टासहितका अंगहरु राजमार्गभन्दा करिब ५ सय मिटर उत्तरतर्फ निकुञ्ज भित्रको जंगलमा भेटिएको थियो । बाघले मान्छे खाएको समाचार सार्वजनिक भएपछि ठूलो संख्यामा जम्मा भएका स्थानीयले घटनास्थल आसपासमै बाघलाई प्रत्यक्ष देखेका हुन् ।

मान्छे खाएको बाघबाट थप घटना हुन नदिनका लागि बाँके राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिने तयारी गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए ।

‘मान्छेलाई मारेको बाघ घटनास्थल छेउछाउमै छ,’ उनले भने, ‘घटना स्थलभन्दा २ सय मिटर पर बाघलाई देखेका छौं । बाघले थप क्षति नगरोस् भनेर नियन्त्रणमा लिने प्रयास गरिरहेका छौं ।’ निकुञ्ज स्रोतका अनुसार बाघ नियन्त्रणमा लिन निकै चुनौती छ । दुई वटा बाघ एकै ठाउँमा भएका कारण नियन्त्रणमा लिन चुनौती भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यता बाघको आक्रमणमा परि मृत्यु भएका ती ब्यक्तिको भने अझैँ नाम, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बाघको आक्रमणबाट मृत्यु भएका ब्यक्ति भारतीय भएको पुष्टी भएपनि नाम र ठेगाना अझै नखुलेको बताए ।

‘मृतकको नाम, ठेगाना अझै खुलेको छैन, बाटोमा हिँड्दै आएको अवस्थामा केही समयदेखि होटलमा काम गर्न थालेको रहेछ, उसको आफन्त कोही पनि सम्पर्कमा आएका छैनन्,’ उनले भने । केही दिनदेखि त्यसक्षेत्रमा पाटेबाघ देखिएपछि निकुञ्ज र प्रहरीले सतर्कता अपनाउँदै आएको एसपी अधिकारीले बताए ।

स्थानीयका अनुसार आईतबार दिउँसो बाघ गाभर गाउँ नजिकै आएर कराएको र दुई दिनअघि पनि गाउँमै पसेर दुई वटा बाख्रा र बाच्छो मारिदिएको थियो । बाघले मान्छे मारेको घटनापछि यतिबेला निकुञ्ज र प्रहरीले राजमार्गको सुरक्षा कडा पारेको छ ।

‘निकुञ्जको पोष्टबाट आर्मीले मोटरसाईकल लगायत साना सवारी साधनलाई एक्लै हिँड्न दिएको छैन, नेपाल प्रहरीले पनि कुसुम लगायत स्थानमा समूहमा मात्र सवारी साधनलाई हिँड्न दिएको छ,’ उनले भने ।

पछिल्लो समय बर्दियामा बाघ आतंक मच्चिरहेका बेला बाँके राष्ट्रिय निकुञ्जभित्रको राजमार्गमै बाघले मानिसमाथि आक्रमण गरेको यो घटना पहिलो हो ।

यसअघि बाँके राष्ट्रिय निकुञ्जभित्र र मध्यवर्तीक्षेत्रमा बाघ आक्रमणको घटना हुने गरेकोमा पूर्वपश्चिम राजमार्गमै आएर बाघले मान्छे खाएपछि बाँके राष्ट्रिय निकुञ्जभित्रको राजमार्ग असुरक्षित बनेकोछ ।