बाँके राष्ट्रिय निकुञ्ज भएर गुड्ने सवारीसाधन सञ्चालनमा रोक, सर्वसाधरणलाई उच्च सर्तकता अपनाउन आग्रह


बाँके राष्ट्रिय निकुञ्ज भएर गुड्ने सवारीसाधन सञ्चालनमा रोक, सर्वसाधरणलाई उच्च सर्तकता अपनाउन आग्रह

नेपालगन्ज २८ भदौ : बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्वपश्चिम राजमार्गमा रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएकोछ । मान्छे मारेका दुई बाघ राजमार्ग नजिकै गाभरको भट्टी खोला किनारमा बसिरहेको हुँदा रात्रिकालीन समयमा साना सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले सर्वसाधरणको सुरक्षा थप दुर्घटना नहोस् भन्नका लागि यस्तो निर्णय गरिएको हो । ‘हामीले आजै बेलुकादेखि लागु हुनेगरि रात्रीकालीन समयमा साना सवारी साधन सञ्चालनमा रोक लगाएका छौं,’ साहले भने, ‘अब अर्को सूचना जारी नहुँदासम्म उक्त समयमा खुलारुपमा सवारी साधन टेम्पो, मोटरसाइकल, साइकल तथा पदैलबाट यात्रा गर्न पाइने छैन ।’

पूर्व पश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–१ गाभरस्थित भट्टीखोला किनारमा आईतबार बाघले एकजना मानिसलाई खाएपछि बाँके राष्ट्रिय निकुञ्जले यस्तो निर्णय गरेको हो ।

उज्यालोमा भन्दा बाघले झुसमुसे साँझमा र सूर्योदय तथा आसपासका समयमा बढी जसो सिकार गर्ने हुँदा साना गाडी रात्रिकालीन समयमा चलाउन प्रतिबन्ध लगाइएको साहले बताए । उनले भने–‘निकुञ्ज र जंगल आसपासका बस्तीमा बढी सर्तकता अपनाउन आग्रह समेत गरेका छौं । दिउँसोमा साना गाडी सञ्चालन गर्दा ठूला गाडीको बीचमा हुने गरी र समूहमा मात्रै सञ्चालन गर्न निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाको तीन वटै युनिटलाई आग्रह गरिसकेको छौं ।’

Kids Festival 2022
kanti aarogya hospital

यस्तै प्रमुख संरक्षण अधिकृत साहले गाभरस्थित भट्टीखोला किनारमा रहेका बाघको निगरानी बढाइएको बताए । उनले भने–‘ती बाघको निगरानीका लागि घरपालुवा दुइवटा हात्ती लगिदैँछ । आवश्यक परेको खण्डमा बाघलाई नियन्त्रणमा लिई उसको प्राकृतिक बासमा छाड्नेछौं ।’

बाघको निगरानीका लागि प्राविधिक टोलीले सो क्षेत्रमा क्यामेरा जडान गरिरहेको भन्दै उक्त क्यामेराबाट बाघलाई ‘ट्रापिङ’ गरि पुरानो बाघ हो वा नयाँ बाघ हो भनेर ‘रेकर्ड आईडी’ म्याच गरिने साहले बताए ।

‘हामीसंग क्यामेराले कैद गरेका फोटाहरु छन्, क्यामेराबाट ती बाघको गतिविधि निगरानी गर्नुका साथै रेकर्ड म्याच गराउँछौं । यसले बाघको ब्यवहार पत्ता लाग्छ ।’ साहले भने– ‘हाम्रो टोली दुई सय मिटर नजिक पुग्दा समेत ती दुई बाघ विचलित भएको देखिएन,’ शाहले अगाडी थपे – ‘ती बाघ फेरि राजमार्ग क्षेत्रमा आएर अरु घटना हुन नपाओस् भनेर सुरक्षाकर्मी तैनाथी बढाइएकोछ ।’

निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहका अनुसार सिकार गरेपछि बाघ बचेको सिकार खानका लागि पटक/पटक घटनास्थलमा आउने गर्छ । आज मात्रै तीन पटक घटना स्थलमा ती बाघ आएका थिए ।

‘मैले करिब दुई सय मिटर नजिक गएर ती बाघ नियाले । लिंग पहिचान भने गर्न सकिनँ,’ साहले भने, ‘ती बाघ भर्खरै माउबाट छुट्टिएर स्वतन्त्र रूपमा विचरण र सिकार गर्दै हिँडेका बाघ हुन् ।’

भर्खरै माउबाट छुट्टिएका बयस्क बाघ भएको हुँदा उनीहरूले आफ्नो एरिया नबनाउँदासम्म स्वतन्त्रपूर्वक विचरण गर्ने र सिकार गर्न बानी नभइसकेको हुँदा इजी सिकार रोज्ने खतरा रहने उनले बताए ।

‘बाघ निरन्तर राजमार्ग क्षेत्रमा आउन प्रयासरत रह्यो भने फेरि घटना हुने खतरा रहन्छ । त्यतिखेर हामीले त्यसलाई नियन्त्रणमा लिन प्रयास गर्नेछौं,’ साहले भने, ‘हैन बाघ राजमार्गदेखि टाढै निकुञ्ज क्षेत्रमै प्रवेश ग¥यो, त्यतै रहिरह्यो भने बाघ नियन्त्रणमा लिने छैनौं ।’ केही दिनमै गाभर क्षेत्रमा चार वटा जति गाई र केही स्थानीयका बाख्रा समेत बाघले खाएको थियो ।