नन्कुन्नी धोबीको घटनामा प्रहरीले अनुसन्धान अघि बढाउने


नन्कुन्नी धोबीको घटनामा प्रहरीले अनुसन्धान अघि बढाउने

नेपालगन्ज २९ भदौ : बाँकेकी नन्कुन्नि धोबीको घटनामा प्रहरीले अनुसन्धान अघि बढाउने भएको छ । जानकी गाउँपालिका वडा नम्बर –२ बेलभार नेवाजी गाउँकी ३८ वर्षिया नन्कुन्नी धोबी गत साउन ६ गते आफ्नै घरमा मृत फेला परेकी थिइन् ।

घटना स्थल शंकास्पद रहेकाले हत्या गरिएको हुन सक्ने भन्दै मृतकका आफन्तले प्रहरीमा मुद्दा दर्ता गरेका थिए । सुरुमा प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि पीडितहरु आक्रोशित भएका थिए । मानवअधिकारर्मीहरुको सहयोगमा घटनाको एक हप्तापछि प्रहरीले मुद्दा दर्ता गरेको थियो ।

राष्ट्रिय महिला आयोगका सदस्य विद्याकुमारी सिंहको नेतृत्वमा मंगलबार नेपालगन्ज आएको टोलीले पीडित पक्ष, जनप्रतिनिधि, स्थानीय, अधिवक्ता, पत्रकार लगायतका मानवअधिकारकर्मीहरुसंग घटनाका सम्बन्धमा छलफल गरेको छ । छलफलपछि नन्कुन्नीको घटनामा थप अनुसन्धान कार्य अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । यस घटनामा पीडितले दिएको जाहेरीका आधारमा सोमबार एक जनालाई पक्राउ गरिसकेको उनले जानकारी दिए ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाले प्रक्रिया अघि नबढेको खण्डमा यो घटनालाई राष्ट्रियकरण गर्ने चेनावनी दिइन् । पीडितलाई न्याय दिलाउनका लागि संघीय स्तरबाट समेत पहल गर्ने उनले बताइन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँकेमा घरेलु हिंसामा महिलाहरु वर्षेनी पर्ने तर, न्याय प्रक्रियामा नजाने प्रवृति धेरै छ । न्याय प्रक्रियामा गएको खण्डमा समेत न्याय पाउने अवस्था नदेखिएको खजुरा गाँउपालिकाका उपप्रमुख एकमाया विकले बताइन् । यो घटनामा सत्यतथ्य छानविन गरेर पीडकलाई कारबाही गर्नुको विकल्प नरहेको बताउदै न्यायका लागि पैदल यात्रामा काठमाण्डौ सम्म जान तयार रहेको पनि उनले बताइन् ।

बाँकेमा वर्षेनी दाइजोको निहुँमा महिलाहरुको हत्या भएका घटनाहरु बाहिरीने गरेको भएपनि सम्बन्धित निकाय त्यसमा संवेदनशील नदेखिएको अधिकारकर्मीहरुको भनाई छ । संविधान बनिसकेको अवस्थामा भए पनि यसको कार्यान्वयन हुन नसक्नु चिन्ताको विषय भएको अधिवक्ता विश्वजीत तिवारीको भनाई छ ।

विवाह भएको ७ वर्षसम्म पनि नन्कुन्नीका सन्तान भएका थिएनन् । दाईजो र सन्तान नभएका कारण हत्या गरिएको हुन सक्ने परिवारको आशंका छ । नन्कुन्नीका बुबा छोट्टन धोबीले विवाहमा बेड, सुनचाँदी लगायत दाइजो दिएको तर, मोटरसाइकल पटक–पटक माग गरे पनि दिन नसकेको बताए ।

नन्कुन्नीका श्रीमानले ३ वटा विवाह गरेको पाइएको छ । पहिलो श्रीमतीलाई मट्टी तेल छर्केर जलाइएको, दोश्रोले कुटपिट सहन नसकेर छोडेर गएको र तेश्रो श्रीमती नन्कुन्नी रहेको पारिवारीक श्रोतले बताएको छ । अघिल्ला घटनाहरुका कारण पनि यो घटनामा हत्या भएको हुनसक्ने उनीहरुको अनुमान छ ।

महिला अधिकार मञ्चकी केन्द्रिय सदस्य मनकुमारी गुप्ताले यसअघि पनि शारीरिक मानसिक रुपमा हिंसा भइरहेको भन्दै न्याय माग्न आफ्नो संस्थामा आएको बताइन् । करीब २ साता देखि जिल्ला प्रसाशन कार्यालयमा धर्ना दिदैँ आएकोमा दोषीलाई कारबाही नभएसम्म आन्दोलन नरोक्ने अधिकारर्मी रुबी साहीको चेतावनी छ । महिलाअधिकार मञ्च बाँकेको सहयोगमा पीडित परिवारले साउन १३ गते राष्ट्रपति, प्रधानमन्त्री र गृह मन्त्रालयमा समेत जिल्ला प्रसाशन कार्यालय बाँके मार्फत् ध्यानाकर्षण पत्र पठाइएको अधिकारकर्मी खानले बताइन् ।

धोबीसंगै, घरेलु हिंसामा परेकी बाँकेकी निर्मला कुर्मीको मृत्यू पश्चात उनको जग्गा अर्कैको नाममा भएको भन्दै अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । आफन्तहरु नभएको अवस्थामा मृतकको नाममा भएको जग्गा सरकारीकरण गर्नुपर्नेमा उनीहरुको जोड छ । तर, यस घटनामा कुर्मीको नाममा भएको जग्गा अर्कैको नाममा भएको थाहा भएपछि उनको मृत्युको कारण पनि शंकाष्पद भएको अधिकारकर्मीहरु बताउँछन् । कुर्मीको नाममा उपमहानगरपालिका भित्र ५÷६ विघा जग्गाजमिन भएको बताइएको छ ।