नेपालगन्ज ११ असोज : रकम अनियमितता भएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा हात हालाहाल भएपछि वडा अध्यक्ष समीरप्रताप सिंह घाईते भएकाछन् ।
उपमहानगरपालिकाको बोर्ड बैठकमा लक्षित वर्गको बजेट अनियमित गरेको भन्दै वडाअध्यक्ष र कार्यपालिका सदस्यबीच भएको चर्काचर्की हात हालाहालमा पुगेपछि वडा अध्यक्ष सिंह घाईते भएका हुन् ।
बोर्ड बैठकमा वडाअध्यक्षद्वय जुमन खाँ र कैफुलवरा जोलाह तथा कार्यपालिका सदस्य देउमल सुनारबीच हात हालाहाल भएपछि छुट्टाउन गएका वडा अध्यक्ष सिंहको बायाँ आँखामा चोट लागेको हो । उनको अवस्था अहिले सामान्य रहेकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६, का वडा अध्यक्ष सिंहले सेतोखरीसंग कुरा गर्दै भने–‘बैठकमा सामान्य विवाद बढ्दै गएपछि हात हालाहाल सम्मको अवस्थामा पुग्यो । दुबै पक्षलाई छुट्याउनखोज्दा चोट लाग्यो ।’ उनले भने–‘चोट लागे लगत्तै चिकित्सकलाई देखाए । धन्न आँखा नै गुम्थ्यो ।’
यता नेपालगन्ज उपमहानगरपालिकाको बोर्ड बैठकमै वडाअध्यक्ष र कार्यपालिकाबीच हात हालाहालको घटनाका विषयमा बुझ्दा उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले सामान्य कुरालाई विवादमा ल्याएर हात हालाहालको अवस्था आएको बताईन् ।
गत वर्ष कार्यपालिका सदस्यलाई खर्च गर्न १२ लाख दिइएको बजेट पारदर्शीरुपमा खर्च नभएको गुनासो बोर्ड बैठकमा वडाध्यक्षहरुले गरेपछि विवाद उत्पन्न भयो । उपमेयर थापाले भनिन्–‘सामान्य विवाद हात हालाहालको स्थितिमा पुग्यो । सोही क्रममा कार्यपालिका सदस्य सुनार र वडाध्यक्ष जोलाहा बीचमा हात हालाहाल भएको हो ।’
बोर्ड बैठकमै पहिलोपटक हात हालाहाल भई वडा अध्यक्ष घाईते भएपछि करिब ३ घण्टा बैठक अबरुद्ध भएको थियो ।
कार्यपालिका सदस्यलाई लक्षित वर्ग अन्र्तगत गत वर्ष १२ लाख रुपैयाँ खर्च गर्न दिइएको थियो । सो बजेटबाट गत वर्ष नेपालगन्जका दलित, मधेशी, मुस्लिम लगायतलाई साइकल वितरण गरिएको थियो ।
उक्त रकम खर्च गर्दा कार्यपालका सदस्यहरुले वडाअध्यक्षहरुसंग समन्वय र सहकार्य नगरी आफूअनुकुल खर्च गरेको, आफ्ना मान्छेलाई मात्र वितरण गरेको र उक्त बजेट पारदर्शी रुपमा खर्च नभएको भन्दै वडाअध्यक्षले बोर्ड बैठकमै प्रश्न उठाएपछि कार्यपालिका सदस्य सुनार प्रतिकारमा उत्रेका हुन् ।