File Photo
नेपालगन्ज १२ असोज : बाँके प्रहरीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको छ । यी चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाउँदै जिल्लाभर लागु गरिएको बाँके प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले दशैं, तिहार र छठ पर्वका बेला हुनसक्ने चोरी, डकैती, ठगी लगायतका अपराधिक गतिविधिलाई ध्यान दिंदैँ विशेष सुरक्षा योजना लागु गरिएको जानकारी दिए ।
चाडपर्वको समयमा बढी आपराधिक लगायतका घटना हुने भएकोले जिल्लाको समग्र सुरक्षा अवस्था कडा र प्रभावकारी बनाउन जिल्ला प्रहरीले मातहतका सबै यूनिटलाई निर्देशन दिएको डिएसपी न्यौपानेले बताए ।
प्रहरीले सीमानाकादेखि जिल्लाका विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने, राजमार्ग क्षेत्रमा ट्राफिक चेकजाँच गर्ने, यात्रुहरुको सहज यात्राको व्यवस्था मिलाउने र स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन गर्ने विषयलाई समेत सुरक्षा योजनामा समेटेको छ ।
चाडपर्वका बेला सीमा नाका र बैंक तथा वित्तीय संस्थाहरु हुने स्थानलाई लक्षित गर्दै कडाइको नीति लिएको छ । सीमा नाकामा यात्रु ठगिने तथा लागुऔषध, विस्फोटक पदार्थ जस्ता वस्तु ओसारपसार हुनसक्ने भएकाले यसप्रति विशेष ध्यान दिइएको डिएसपी न्यौपानेले बताए ।
चाडपर्वका अवसरमा हुने जुवातास, मदिरा सेवन गरि सवारी साधन चलाउने, अनावश्यक भीडभाड गरि होहल्ला गर्ने कार्य नियन्त्रणमा लिइनेछ । जिल्लाको सुरक्षाका लागि भन्दै ठाउँ–ठाँउमा मोटरसाइकलसहित क्यूआर टोली, गाडीसहितको मोबाइल टोली तयारी अवस्थामा राखिनेछ । भने विभिन्न स्थानमा जडान गरिएका सीसिटिभी मर्मत गरिनुका साथै आवश्यक परेको खण्डमा तालिम प्राप्त कुकुर परिचालन गरिनेछ ।
चाडपर्वमा हुनसक्ने अवान्छित गतिविधि नियन्त्रणसँगै कोभिडको महामारीलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा पनि कडाइ गरिनेछ । प्रहरी नायब उपरीक्षक न्यौपानेले भने–‘सामाजिक सद्भाव कायम राख्दै जिल्लाकोे सुरक्षाका लागि यहाँका धर्मगुरुसंग समन्वय गरेकाछौं ।’
कोरोनाको जोखिम अझैं टरि नसकेकोले चाडबाडमा स्वास्थ्य सम्बन्धि सर्तकता अपनाउन आग्रह गर्दै उनले भने–‘सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सबै तयारी गरिएकोछ । घटना घट्न नदिने वातावरण निर्माणमा हामी लागेका छौं । यसमा प्रत्येक सचेत नागरिकको साथ र सहयोग रहनैपर्छ । घटना घटेको खबर पाए लगत्तै ५ मिनेटमै घटना स्थलमा प्रहरी पुग्ने व्यवस्था गरेकाछौं ।’
‘जिल्लाबासीलाई शान्तिपूर्ण तरिकाले चाडपर्व मनाउने वातावरण हामी बनाउँछौं,’ उनले भने, ‘अहिले परिचालन गरिएको जनशक्ति पर्याप्त भएन भने थप जनशक्ति गणबाट माग गरि शान्ति सुरक्षा कायम गर्छौं ।’
बाँके प्रहरीले मङ्गलबार चाडपर्व लक्षित एक सूचना जारी गर्दै मादक पदार्थ सेवन गरि सवारी साधन नचलाउन, होहल्ला र झैझगडा नगर्न, लामो समयसम्म घर छोड्नुपरेमा प्रहरीलाई खबर गर्न, ठूलो मात्रामा रकम बोकेर एक्लै नहिँड्न, व्यक्तिगत सुरक्षामा सचेत बन्न, बजारमा कृतिम अभाव, कालोबजारी, अस्वभाविक मूल्यबृद्धि जस्ता कार्य नगर्न तथा आर्थिक चन्दा संकलन, चिठ्ठा उपहार जस्ता गैरकानूनी कार्य नगर्न आग्रह गरेकोछ ।