नेपाल प्रहरीभित्र विभेदकारी न्याय
नेपालगन्ज १४ असोज : जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले १७ जना प्रहरीलाई कारबाही गरेर ईन्चार्जलाई उन्मुक्ति दिएका छन् ।
बुधबार सीमा क्षेत्र जमुनाहमा पुगेका बाँके एसपी अधिकारी र डिएसपी मधुसुदन न्यौपानेले चेकजाँचमा खटिएका केही प्रहरीले भारतबाट नेपाल आउने नेपालीबाट रकम उठाउने गरेको भन्दै १७ जना प्रहरीलाई कारबाही स्वरुप जिल्ला तानेकाछन् ।
प्रहरी नायब निरीक्षक(सई) पूर्ण खत्रीसहित २५ जना रहेको ईलाका प्रहरी कार्यालय जमुनाहमा १७ जनालाई एसपी अधिकारीले कारबाहीको दायरामा ल्याएका छन् । तर, लुम्बिनी प्रदेशका डिआइजी मुकुन्दराज आचार्यले काज सरुवा गरि पठाएका जमुनाह ईन्चार्ज सई खत्रीलाई भने एसपी अधिकारीले छुनसम्म सकेनन् ।
‘ती १७ जना प्रहरीको पनि माथि कोही भएको भए कारबाहीमा पर्ने थिएनन् । जवान–हवल्दारको को पो हुन्छ र ? त्यसैले कारबाहीमा पर्दैछन् ।’ एक प्रहरी अधिकृतले सेतोखरीसंग भने–‘पावरमा आएका सई खत्रीलाई कस्ले छुन सक्ने ? एसपी अधिकारीले इन्चार्जलाई पनि तानेको भए बल्ल न्यायपूर्ण ब्यवहार गरेको मानिन्थ्यो ।’
‘१७ जनाले गल्ती गर्दा ईन्चार्ज कसरी चोखो रहन सक्छ । यदि न्यायपूर्ण र विधिसम्मत कारबाही गर्ने हो भने पहिले इन्चार्जलाई कारबाही गरिनुपथ्र्यो, यो त पुरै विभेदकारी ब्यवहार भयो’ एक प्रहरी अधिकारीले भने ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जमुनाहका १७ जना प्रहरीलाई समयावधि पुगेकाले जिल्ला प्रहरी कार्यालय बाँकेमा तानेर नयाँ टिम पठाएको घुमाउरो उत्तर दिए ।
विधि र नियमसंगतमा ती १७ जना प्रहरीलाई एसपीले तानेका भने होइनन् । छड्के चेकजाँचमा जाँदा भारत घर फर्केका नेपालीबाट पैसा लिएकाले कारबाही गरिएको हो भने अघिल्लो दिनै डिएसपी र एसपीले प्रतिकृया दिएका थिए ।
तर, बिहीबार सेतोखरीले ती १७ जना प्रहरीलाई जमुनाहबाट किन तान्नु भएको ? भनि सोधेको प्रश्नमा डिएसपी न्यौपानेले जवाफ दिए–‘काम गर्न सकेनन्, पुराना भए, नयाँलाई ब्रिफिङ्ग गरेर काम सिकाएर पठाएका छौं । नियमित प्रक्रिया भएर जिल्ला तानिएको हो ।’
जमुनाह ईलाकामा जाने जोकोही पनि प्रहरी विधिसम्मत जाँदैनन् र पठाइदैनन् पनि । डिएसपी, एसपी र डिआईजीको पावरमा ईन्चार्जदेखि जवानसम्म पैसा कमाउन त्यहाँ पठाइने गरिन्छ ।
इन्चार्जलाई किन तान्नु भएन त ? भनि सोधिएको अर्को प्रश्नमा डिएसपी न्यौपानेले भने–‘नयाँ हो, भर्खर गा छ, त्यसलाई पनि वारेन्ट दिया छ । सरले सोधिरहनु भएको होला, केही होला ।’
डिआइजीको मान्छे भएर सईलाई केही नगरेको हो ? भनि सेतोखरीले सोधेको अर्को प्रश्नमा डिएसपी न्यौपानेले सई खत्री डिआइजीको मान्छे होइन भनेर भन्न सकेनन् । उनले जवाफ दिए ‘त्यो त मलाई थाहा भएन ।’
जमुनाह ईन्चार्ज पठाउन लुम्बिनी प्रदेशमा जो डिआइजी आँउछ उसैले पठाउने गर्छ । जमुनाह ईलाका प्रहरी ईन्चार्ज डिआइजीको ‘भाग’ स्वरुप छुट्याइएको हुन्छ । यसअघि पनि डिआइजी रविन्द्र धानुकले सिधै सई विष्णु गिरीलाई इन्चार्ज पठाएका थिए ।