जमुनाहबाट सई खत्री हटाइए, शुक्रबार १० बजे जिप्रका बाँकेमा हाजिर हुन निर्देशन


जमुनाहबाट सई खत्री हटाइए, शुक्रबार १० बजे जिप्रका बाँकेमा हाजिर हुन निर्देशन

नेपालगन्ज १४ असोज : ईलाका प्रहरी कार्यालय जमुनाह बाँकेका प्रहरी नायब निरीक्षक (सई) पूर्ण खत्रीलाई कारबाही गरि जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएकोछ ।

भारतबाट घर फर्कने नेपालीबाट पैसा असुलेको भन्दै बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बुधबार १७ जना प्रहरीलाई जिल्ला तानी सई खत्रीलाई उन्मुक्ति दिएको समाचार सेतोखरीले प्रकाशित गरेपछि सई खत्रीलाई जमुनाहबाट हटाउन निर्देशन आएकोछ ।

प्रहरी उच्च स्रोतले जमुनाहका सई खत्रीलाई त्यहाँबाट हटाई जिल्ला पठाउन माथिबाट निर्देशन आइसकेको जानकारी दिएकोछ । सई खत्रीलाई त्यहाँबाट हटाई जिल्लामा राख्नु भन्ने निर्देशन आइसकेकोछ । उच्च प्रहरी स्रोतले सेतोखरीलाई भन्यो –‘अफिसको सबै कुरा असईलाई बुझबुझारक गरि सई पूर्ण खत्रीलाई २०७८ असोज १५ गते १० बजे जिप्रका बाँकेमा हाजिर गराउनु भनि निर्देशन आइसकेकोछ ।’

नेपालीबाट सीमाक्षेत्रमा पैसा असुलेको भनि बाँके प्रहरी प्रमुख अधिकारीले १७ जना प्रहरीलाई मात्र जिल्ला तानि सई खत्रीलाई केही नगरेपछि सर्वत्र विरोध भइरहेको थियो ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा १७ जना प्रहरीलाई कारबाही गर्दा ईन्चार्ज सई खत्रीलाई पनि कारबाही गरिनुपर्ने भन्दै बाँके प्रहरीले विभेद गरेको भनि विरोध भएपछि सई खत्रीलाई पनि माथिकै निर्देशनमा जमुनाहबाट हटाइएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जमुनाह इन्चार्ज खत्रीलाई त्यहाँबाट हटाइएको पुष्टि गरे । डिएसपी न्यौपानेले सेतोखरीसंग भने –‘एसपी साब र डिआइजी सापको सल्लाहमा सइ खत्रीलाई हटाइएको हो । भोली विहान १०/११ बजे वहाँ जिल्ला आउनुहुन्छ र हामी नयाँ इन्चार्ज पठाउँछौं ।’

‘ती १७ जना प्रहरीको पनि माथि कोही भएको भए कारबाहीमा पर्ने थिएनन् । जवान–हवल्दारको को पो हुन्छ र ? त्यसैले कारबाहीमा पर्दैछन् ।’ एक प्रहरी अधिकृतले सेतोखरीसंग भने–‘पावरमा आएका सई खत्रीलाई कस्ले छुन सक्ने ? एसपी अधिकारीले इन्चार्जलाई पनि तानेको भए बल्ल न्यायपूर्ण ब्यवहार गरेको मानिन्थ्यो ।’

‘१७ जनाले गल्ती गर्दा ईन्चार्ज कसरी चोखो रहन सक्छ । यदि न्यायपूर्ण र विधिसम्मत कारबाही गर्ने हो भने पहिले इन्चार्जलाई कारबाही गरिनुपथ्र्यो, यो त पुरै विभेदकारी ब्यवहार भयो’ एक प्रहरी अधिकारीले भने ।