बागलुङ १६ असोज : पहिरोले विद्यालय भवन भत्केपछि यहाँका बालबालिका बाँसको टहरामुनि बसेर पढ्न बाध्य छन् । गत भदौ २४ र २५ गतेको पहिरोले काठेखोला गाउँपालिका–१ पालास्थित सरस्वती प्राथमिक विद्यालयको आठ कोठे भवन क्षतिग्रस्त बनाएको थियो ।
नजिकै सडकछेउ पाल टाँगेर बनाइएका अस्थायी टहरामा विद्यालयको पठनपाठन भइरहेको प्रधानाध्यापक बलबहादुर थापाले बताए । दुई टहरामा कक्षा ५ सम्मका बालबालिकाले आलोपालो गरेर पढ्छन् । ‘पहिराका कारण छ कोठा पूर्णरुपमा क्षतिग्रस्त भए, बाँकी दुई पनि प्रयोग गर्न नमिल्ने स्थितिमा छन्’, प्रअ थापाले भने,‘कुनै विकल्प नभएपछि बालबालिकालाई टहरामा राखेर पढाउन बाध्य भयौँ ।’
टहरा बनाउन रेडक्रस जिल्ला शाखाले दुई, स्थानीय जनएकता सामुदायिक संस्थाले एउटा र गाउँलेले दुई पाल विद्यालयलाई दिएका थिए । बाँस पनि घरगाउँबाट उठाइएको प्रअ थापाले बताए । विद्यालय पहिलेदेखि नै पहिराको जोखिममा थियो । पाँच सय मिटरमाथिबाट पहिरो आउँदा विद्यालय पुरिएको हो । भवनमा क्षति पुग्दा विद्यालयको प्रशासनिक कार्यालयसमेत छैन । कक्षाकोठा नहुँदा बालबालिका कठिन स्थितिमा छन् । शिक्षकलाई सिकाइ सहजीकरणका लागि पनि समस्या छ ।
भवन पुनःनिर्माणका लागि गाउँपालिकादेखि प्रदेश सरकारसम्म विद्यालयले निवेदन दिएको छ । केही दिनअघि प्रअलगायतको टोलीले प्रदेशको अर्थ, सामाजिक विकासलगायतका मन्त्रालयमा पुगी मागपत्र पेश गरेको थियो । गाउँपालिकाको विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालयलगायतले पनि विद्यालयमा पुगेको क्षतिको जानकारीसँगै पुनःनिर्माणका लागि सम्बन्धित निकायमा सिफारिस गरेका छन् । -रासस