नेपालगन्ज १९ असोज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझी स्थित गायत्री मन्दिर छेउ पलटिङ्ग गरेको जमिनमा एक युवकको शव फेला परेकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अन्दाजी १९ वर्षे युवाको शव फेला परेको हो । बर्दिया राजापुर स्थायी निवासी १९ वर्षिय रोहित थारुको शव भेटिएको बाँके प्रहरी प्रवक्ता एवम डिएसपी मधुसुदन न्यौपानेले बताए ।
धम्बोझी स्थित गायत्री मन्दिर छेउ पलटिङ्ग गरिएको खाली जमिनमा मङ्गलबार विहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव भेटिएको खबर पाए लगत्तै घटनास्थलमा प्रहरी पुगेको थियो । मृतक रोहित आफ्नो दिदीका साथ लामो समयदेखि वडा नम्बर– १ धम्बोझीमा बस्दै आएका थिए ।
बाँके प्रहरी प्रवक्ता एबम डीएसपी न्यौपानेले प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको जस्तो नदेखिएको बताए । ‘हाम्रो टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेकोजस्तो देखिँदैन’, प्रवक्ता न्यौपानेले भने ।
यद्यपी मृतक रोहीतकी दीदि सीमा थारुले भाईको हत्या भएको बताएकी छन् ।
‘सोमबार राती सुतीरहेका भाई रोहीतलाई फोन गरेर बोलाइएको थियो । विहान शव भेटियो ।’ सीमाले अगाडी थपिन्–‘यो सुनियोजित घटना हो । भाइलाई मारे । हत्यारालाई कारबाही गरियोस् ।’
प्रहरीले रोहितको शव पोष्टमार्टम गर्ने तयारी गरेकोछ । घटनाको तहकिकात गरिरहेको प्रहरीले रोहितको मृत्युको रहस्य उजागार गरि दोषीलाई कारबाही गर्ने बताएकोछ ।