तीन महिनामा १५५० जनाले सेवा लिए
नेपालगन्ज १९ असोज : बाँके प्रहरीले आफ्नो सक्रियतालाई बढाएर लगेकोछ । जिल्लामा प्रहरीको सक्रियता बढेसंगै बाँके प्रहरीलाई सफलता समेत प्राप्त हुदैँ गएकोछ ।
अदालतबाट फैसला भई विभिन्न मुद्धामा फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न बाँके प्रहरीलाई सफलता मिलेको छ । बाँके प्रहरीले सार्वजनिक गरेको एक तथ्यांकमा यस्तो पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले मङ्गलबार नेपालगन्जमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले प्रस्तुत गरेको प्रगति विवरणले प्रहरीलाई सफलता मिलेको देखाएकोछ ।
बाँके प्रहरीले गत असार १८ गतेदेखि असोज १८ गतेसम्मको प्रगति विवरण प्रस्तुत गरेकोछ । यो अवधिमा एक हजार ५ सय ५० जनाले सेवा लिएको जानकारी गराउँदै बाँके प्रहरी प्रमुख एसपी अधिकारीले गत वर्षको तुलनामा यस वर्ष सेवा लिनेको संख्यामा समेत बढोत्तरी भएको बताए ।
गत वर्ष यही अवधिमा ७ सय ८० जनाले सेवा लिएका थिए । भने यही अवधिमा २ सय ३७ मुद्दा दर्ता भएका थियो । एसपी अधिकारीले अघिल्लो वर्षको यो अवधि भन्दा पक्राउ पर्नेको संख्या भने दोब्बरले बढेको छ ।
अघिल्लो वर्ष २ सय ६३ जना पक्राउ परेकोमा यो अवधिमा ३ सय ६५ जना पक्राउ परेका छन् । यस्तै फैसला कार्यान्वयनलाई पनि प्रभावकारी ढंगबाट अगाडि लगिएको बाँके प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिए ।
बाँके प्रहरीले गत वर्ष २२ वर्ष ६ महिना ११ दिन कैद असुल उपर गर्दै ६ लाख ५० हजार जरिवाना उठेको थियो भने अहिले १४ वर्ष ८ महिना ११ दिन कैद असुल गर्दै ११ लाख ७५ हजार जरिवाना असुल गरेकोछ ।
यस्तै यो अवधिमा २ करोड ७८ लाखको राजश्व संकलन भएको बाँके प्रहरीको सार्वजनिक सुनुवाईमा बोल्दै बाँकेका प्रहरी प्रवक्ता एवम डिएसपी मधुसुदन न्यौपानेले बताए । उनले भारतबाट भन्सार छलिका अबैध सामान बरामदबाट राजश्व असुली भएको जानकारी दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यतामा भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अनुसार सार्वजनिक सुनुवाई कार्यक्रम बाँके प्रहरी प्रमुख एसपी अधिकारीले नजिकिदै गरेको चाडपर्व लक्षित सुरक्षा योजना एवम् भावी कार्ययोजनाका बारेमा प्रकाश पार्नुका साथै उठेका जिज्ञासाहरूको सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्षद्वय कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, महासंघका महासचिव चिरञ्जीवि ओली लगायतले प्रहरीले आफ्नो आचरण र व्यवहारलाई सुधार गर्दै जनतामैत्री सेवा दिनुपर्नेमा जोड दिएका थिए ।