नेपालगन्ज २३ असोज : बाँके प्रहरीले सीमा सुरक्षाका लागि नेपालगन्ज नाकामा तालिम प्राप्त कुकुरसहितको विशेष जाँच (‘डग स्नाइफिङ’) गरेकोछ । भारतबाट नेपाल प्रवेश गरेका सबैलाई जमुनाहा नाकामा शनिबार बिहान दुईवटा तालिम प्राप्त कुकुरसहितको जाँच गरिएको हो ।
नेपाल प्रहरीको दुईवटा कुकुर ‘लब्ली’ र ‘ब्यूटी’ले भारतबाट नेपाल आएका मानिस, सवारी साधन र उनीहरुले ल्याएका सामानलाई जाँच गरेका थिए । लब्लीले बिष्फोटक पदार्थ र हातहतियार तथा ब्यूटीले लागुऔषध सम्बन्धी जाँच गरेका हुन् ।
कोरोना कहरमै रोजगारीका लागि भारत गएकाहरु दशैं मनाउन घर(नेपाल) फर्किरहेकाछन् । नेपालगन्ज स्थित जमुनाह नाकामा यतिबेला दशैँ मान्न आउनेको भीडभाड रहेको छ । केहीदिन अघिमात्र नाका खुलेकाले किनमेलका लागि रुपैडिहा जानेको उस्तै भीड बढेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम डिएसपी मधुसुदन न्यौपानेका अनुसार दशैँ लक्षित सुरक्षा योजनाअन्तर्गत नाकामा कुकुरसहितको टोलीले जाँच गरेको बताए । दुईवटा तालिम प्राप्त कुकुर लिएर प्रहरी निरीक्षकद्वय बासुदेव सुवेदी र ईश्वर गिरी नाकामा पुगेको उनले जानकारी दिए ।
बाँके प्रहरीले नेपालगन्ज नाकामा बेलाबेलामा यस्तो (तालिम प्राप्त कुकुरसहित) जाँच गर्नेगर्दछ । सीमावर्ती भारतीय शहर रुपैडिहाबाट लागु औषध नेपाल ल्याउने गरिन्छ । नाकामा खटिएको प्रहरीले विशेष सुराकीका आधारमा र केहीलाई शंका लागेर जाँच गर्दा लागु औषध बरामद गर्ने गर्दछ । यद्यपी कतिपय अवस्थामा त्यस्ता ब्यक्ति फुत्किने हुँदा तालिम प्राप्त कुकुरको मद्दतले प्रहरीले लागुऔषध बरामद गर्ने गरेको पनि बाँके प्रहरी प्रवक्ता डिएसपी न्यौपानेले बताए ।
उनका अनुसार तालिम प्राप्त कुकुरले सीमामा जाँच गर्दा शनिबार बिहान भने केही फेला परेन । नाकामा प्रायः सबै कालापहाडबाट दशैँ मान्न घर फर्किएका नेपालीको भीड रहेकाले उनीहरुको साथमा कुनै अवैध सामान फेला नपरेको उनले बताए ।
कोरोना कहरमै भारतबाट आएकाहरुलाई नेपालगन्ज नाकामा पछिल्लो केही दिनयता खोप लगाएर पठाउने गरिएको छ । एन्टिजेन जाँच चैत्रदेखि नै भइरहेको छ । यसका लागि सीमामै हेल्थ डेस्क राखेर स्वास्थ्य सर्तकता अपनाइएकोछ ।