बाढीमा फसेका ४ जनाको सकुसल उद्धार, तीन जनाले पौडी खेलेर ज्यान बचाए

राप्ती नदीको सतह बढ्दै


बाढीमा फसेका ४ जनाको सकुसल उद्धार, तीन जनाले पौडी खेलेर ज्यान बचाए

राप्तीको बाढीमा फसेका ब्यक्तिलाई उद्धार गरिदै । तस्बिर सौजन्य : नेपाल प्रहरी

नेपालगन्ज २ कार्तिक : अविरल वर्षाका कारण बाँकेको राप्ती नदीमा आएको बाढीमा फसेका ४ जनाको सकुशल उद्धार गरिएकोछ । डुडुवा गाउँपालिका वडा नम्बर–४ का चार जना स्थानीय पुरुषलाई मङ्गलबार बिहान सकुशल उद्धार गरिएको हो ।

हिजो (सोमबार) बेलुका राप्ती नदीको बीच भागमा वन करेला टिप्न भनि गएका ती चारै जना राप्ती नदीमा आएको बाढीमा फसेका थिए ।

स्थानीय बासिन्दा नदीमा फसेको जानकारी पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आज (मंगलबार) बिहान पौने ९ बजे ती ४ जना पुरुषलाई सकुशल उद्धार गरेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

राप्ती नदीमा फसेका डुडुवा गाउँपालिका वडा नम्बर–४ निवासी ५५ वर्षका सौखत नाउ, ४५ वर्षीय सब्बिर खाँ, ३० वर्षका प्रमोद लोनिया र ६० बर्षीय नाजिर खाँको उद्धार गरिएको उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

राप्तीको बाढीमा फसेका अन्य तीन जना भने सोमबार राती नै पौडी खेलेर नदी तर्न सफल भएको केन्द्रले जनाएको छ ।

अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ । कुसुमस्थित बाढी मापन केन्द्रमा मंगलबार बिहान गरिएको मापन अनुसार राप्ती नदीको सतह ३ मिटर ४० सेन्टिमिटर पुगेको छ ।