नेपाल–भारत आवगमनमा रोक, डोटी र डडेल्धुरामा एक-एक जनाको मृत्यु
File Photo
नेपालगन्ज २ कार्तिक : अविरल वर्षाका कारण महाकाली नदीमा पानीको सतह खतराको विन्दुभन्दा माथि उक्लिएको छ । पछिल्लो २४ घण्टादेखि जारी वर्षाका कारण महाकाली नदीमा पानीको सतह पाँच लाख क्युसेकभन्दा माथि पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेका अनुसार पानीको सतह बढेपछि शारदा ब्यारेज (महाकाली पुल) मा नेपाल–भारत दुवैतर्फको आवगमनमा रोक लगाइएको छ । महाकालीमा पानीको बहाव एक लाख क्युसेकभन्दा बढी भएमा त्यसलाई खतरा मानिन्छ । डीएसपी न्यौपानेका अनुुसार तटीय क्षेत्रका बस्तीमा महाकालीको बाढी पसेको छ ।
यसैबीच, बाढी र पहिरोमा फसेका ब्यक्तिलाई सरकारले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी गरिरहेको छ । यसका लागि नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ उडिसकेको गृहमन्त्रालयले जनाएको छ ।
गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट हेलिकप्टर उडिसकेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख (सह–सचिव) हुमकला पाण्डेले जानकारी दिइन् । अविरल वर्षाले सुदूरपश्चिम प्रदेशको डोटी, डडेलधुरा र कञ्चनपुर बढी मात्रामा प्रभावित भएको उनको भनाइ छ ।
बाढी र पहिरोमा परी डोटी र डडेलधुरामा एक÷एक जनाको मृत्यु भएको छ । डडेलधुरामै एक जना पुरिएर बेपत्ता भएका छन । केही ठाउँमा बाढी र पहिरोले मानिसहरु बीचमा थुनिएको खबर पनि आएको मन्त्रालयले जनाएको छ ।
गृहमन्त्री खाणले सुदूरपश्चिमका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई टेलिफोन गरी समन्वयात्मक ढंगले उद्धार र राहतको काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन पनि दिइसकेका छन् ।