नेपालगन्ज ७ कार्तिक : बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती सोनारी गाउँपालिका–१ गाभर र सौरीबीचको जंगलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरे पनि नियन्त्रणमा आउन सकेको छैन ।
उक्त क्षेत्रमा केही दिनअघि चार वटा पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका थिए ।
मान्छे र पशु चौपाया मार्ने बाघ नियन्त्रणमा लिन निकुञ्जले राजमार्गभन्दा करिब १५० मिटर उत्तरतर्फ एउटा पाडो बाँधेर राखेको थियो । अहिले ती बाघ गाभर र सौरीबीचकै जंगलमा घुमिरहेको निकुञ्ज कार्यालयले जनाएको छ ।
पाडोलाई बाघले मारेर खाएको निकुञ्जले जनाएको छ। आहाराका लागि पाडो खान आएको बाघलाई लठ्याएर नियन्त्रणमा लिने निकुञ्जले योजना बनाएको थियो । निकुञ्जका रेन्जर राजन पण्डितले नियन्त्रणमा लिन समस्या भइरहेको बताए ।
‘बाघले पाडो मारेर खाएको छ, बाघमाथि निगरानी बढाएका छौँ,’ उनले भने ।
पाडो मार्न आएका दुई बाघ क्यामेरामा कैद भएका छन् । बाघले थप घटना गर्न सक्ने भएकाले अहिले पनि निकुञ्जका दुई घरपालुवा हात्ती गाभरमै राखिएको छ । बाघ नियन्त्रणका लागि नेपाली सेना र निकुञ्जका कर्मचारी दैनिक खटिएका छन् ।
ठाउँ–ठाउँमा क्यामेरा जडान गरी हात्तीसहित सेना र कर्मचारी बाघको निगरानी गर्न खटिएका हुन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघ अझै त्यस क्षेत्रमा रहेकाले पूर्व–पश्चिम राजमार्गमा राति साना सवारी साधनलाई आवतजावत गर्न पूर्णरूपमा रोक लगाइएको बताए ।
निकुञ्जले बाघ नियन्त्रणमा लिन दुई खोर तयारी अवस्थामा राखेको छ । गत महिना पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुम सडकखण्डमा ४५ वर्षीय पुरुषको पाटेबाघको आक्रमणबाट ज्यान गएको थियो ।
मान्छेलाई आक्रमण गर्नुअघि पाटेबाघले गाउँमै पसी एउटा गाई र एउटा बाछो मारेका थिए । पाँच सय ५० वर्ग किमिमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जको उत्तरतर्फ बबई र दक्षिण–पूर्वमा राप्ती नदी बगेको छ । निकुञ्जका कतिपय क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाको मूल नहरसमेत छ ।