जडीबुटी सङ्कलन गर्न हुम्ला पुगेका एक युवकको मृत्यु


जडीबुटी सङ्कलन गर्न हुम्ला पुगेका एक युवकको मृत्यु

सिमकोट ७ कार्तिक : हुम्लाको चङ्खेली गाउँपालिकाको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न आएका मुगु घर भएका एक युवकको मृत्यु भएको छ ।

चङ्खेली–३ को मिमीमा रहेको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न गएका मुगु कार्मारोङ गाउँपालिका–४ स्थित कात्तिक गाउँका ३३ वर्षीय छिरिङ लामा कटुकी सङ्कलन गरी घर फर्किने क्रममा हिउँ पहिरामा परी मृत्यु भएको हो । मृतकका दाजु ३७ वर्षीय कार्मा सुण्डा लामाको दाहिने हात भाँचिएर घाइते भएको जानकारी प्राप्त भएको छ ।

कार्मा सुण्डासहित सातजना दुई दिन लगाएर चङ्खेली–३ मिमी गाउँ हुँदै मुगु फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुले जिल्ला प्रहरी कार्यालय हुम्लालाई जानकारी गराएको प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जडीबुटी सङ्कलन गर्न गएका छोइटिन लामा, आङजिङ लामा, तोचे लामा, छोइटाङ लामा, सङ्गीता लामा र कार्मा सुण्डा लामा भने घर फर्किएका छन् ।

जडीबुटी सङ्कलनमा हिउँ पहिरामा परी मृत्यु भएको छिरिङको शव जङ्गलमै रहेको उनका दाजु कार्माले घर पुगेर रिपोर्ट गरेपछि जानकारी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

चङ्खेली–३ को मिमी गाउँदेखि दुई दिन टाढा रहेकाले कुन ठाउँमा हो यकिन गरी मात्रै खोजी हुने प्रहरी नायब उपरीक्षक शर्माको भनाइ छ । मेलछाम प्रहरी चौकीबाट दुई दिन टाढाको जङ्गल भएकाले खोजी गर्न प्रहरीलाई कठिन भएको उनले जानकारी दिए । -रासस