१४ दिनदेखि हराइरहेका रेशमको शव प्रहरी पोष्ट नजिकै भेटियो

प्रहरी र स्थानीयबीच तनाव, तनाव मथ्थर पार्न प्रहरीले अश्रु ग्याँस, लाठी चार्ज र हवाई फायर खोल्यो


१४ दिनदेखि हराइरहेका रेशमको शव प्रहरी पोष्ट नजिकै भेटियो

नेपालगन्ज १५ कार्तिक : पछिल्लो १४ दिनदेखि हराइरहेका अछामका ३७ वर्षिय रेशमराज तिमिल्सेनाको शव सोमबार दिउँसो भेटिएकोछ । उनको शव भेटिएसंगै यतिबेला अछामको कमलबजार तनावग्रस्त बनेकोछ ।

अछाम, कमल बजार नगरपालिका वडा नम्बर– ५ निवासी रेशमको शव गैरीटाड बजार नजिक रहेको अस्थायी प्रहरी चौकीको पछाडी कुइका आउने बाँस र सिस्नोघारीमा सोमबार दिउँसो २ बजेतिर बेवारिसे अवस्थामा भेटिएको हो ।

उनको हत्या नै भएको दाबी सहित परिवार र आफन्तले कुकुरसहित नेपाल प्रहरीको दक्ष जनशक्तिबाट अनुसन्धान हुनुपर्ने माग गर्दै शव उठाउन मानेका छैनन् ।

घटनास्थल वरिपरी रहेका तीन वटा गाउँबाट ठुलो संख्यामा उपस्थित भएका स्थानीय बासिन्दा र प्रहरीबीच अहिले तनाव उत्पन्न भएको छ । सो क्रममा प्रहरीले अश्रु ग्याँस, लाठी चार्ज गर्नुका साथै हवाई फायर समेत गरेको स्थानीयले बताएका छन् । स्थानीयले प्रहरीलाई लखेटेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रहरीले उनको हत्यामा संलग्न रहेको आरोपमा रेशमसँगै होटलमा सुतेका उमेश शाहीसहित अर्का गणेश शाहीलाई पनि पक्राउ गरेको छ । तर प्रहरीले उक्त घटनाको अनुसन्धानमा गम्भीरता नदेखाएको पीडित पक्षको आरोप छ ।

हत्या आरोपी र स्थानीय प्रहरी चौकीका इन्चार्ज आफन्ती भएकाले उक्त घटनामा दोषीलाई कारबाही हुनेमा परिवार र आफन्तले शंका ब्यक्त गरेका छन् । रेशमको प्रहरीसँग समेत रिसिबी रहेको र प्रहरीको संलग्नतामा हत्या गरिएको हुन सक्ने मृतक रेशमका भतिजा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–९ का वडासदस्य समेत रहेका रमेश तिमिल्सेनाले सेतोखरीलाई बताए ।

‘प्रहरी र स्थानीय बासिन्दाबीच अहिले तनावपूर्ण स्थिती छ, प्रहरीले लाठी चार्ज र अश्रुग्याँस प्रहार गर्नुका साथै हवार फायर पनि गरिसकेको छ, प्रहरीले सुरुमा लाठी चार्ज गरेपछि यस्तो स्थिती आएको हो,’ उनले जानकारी दिए ।

यही कार्तिक २ गतेदेखि अछाम गैरिटाडको एक होटेलबाट बेपत्ता पारिएका मेरा अंकल एवम नेपाली काँग्रेस अछाम क्षेत्र न–२ का क्षेत्रीय सदस्य रेशमराज तिमिल्सेना आज अछामको गैरिटाड बजारमा रहेको अस्थायी प्रहरी चौकी देखि ५०/६० मिटरको दुरी नजिक सिस्नो र बाँसको झाडीमा बेबारिसे अबस्थामा शव फेला परेकोछ’ घटना प्रकृतिबारे जानकारी दिदैं रमेशले भने–‘अंकलको शरीरभरी नीलडाम र घाउचोट छ । टाउको फुटेकोछ । प्रहरी कार्यालय नजिकै भएको घटना, अपराधी पत्ता लगाउन नसक्नुले प्रहरीले घटना रहस्यमय बनाउन खोजेकोछ ।’

‘घटनाको दोषीलाइ सार्बजनिक गरि कडा कारबाही होस् । कहि कतैबाट यो घटनालाइ तोडमोड गर्ने कोशिस नहोस् । अङ्कललाई अपराधीहरुले नियोजित तरिकाले हत्या गरेकाछन् । न्याय नपाउदाँसम्म न्यायका लागि लडिरहने छौं ।’ मृतकका भतिजा रमेशले बताए ।