विराटनगर कारगारमा चौकीदार र नाइकेबीच कुटाकुट, ६ जना घाइते


विराटनगर कारगारमा चौकीदार र नाइकेबीच कुटाकुट, ६ जना घाइते

विराटनगर २३ कार्तिक : विराटनगरको कारागारमा कैदीबन्दीबीच कुटाकुट भएकोछ । दुई पक्षबीच दोहोरो झडपसंगै कुटाकुट भएपछि ६ जना कैदीबन्दी घाइते भएका छन् ।

कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झडप भएको हो ।

झडपमा चौकीदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । घाइते ६ जनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको छ ।

चौकीदार गुरूङ समूहको अत्याचार सहन नसकेपछि कैदीबन्दीहरु आपसमा विवादमा उत्रिएर झडपको स्थिति भएको बताइएको छ । गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको आरोप कैदीबन्दीको आरोप छ । विवादकै क्रममा कैदीबन्दीले गुरुङसहित उनको समूहका १४ जना नाइके र भाइ नाइकेहरूलाई जेलभित्रैको एउटा कोठामा थुनिदिएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

पदम कुमार लिम्बु, निर्मल ढकाल, राम कुमार राई, रमेश मण्डल, किरण गुरुङ, शखेर राई, बिशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई र बविहाङ राईलाई यहाँका अन्य कैदी बन्दीहरुले एउटा कोठामा थुनिदिएका हुन् । थुनिएका कैदीहरूलाई प्रहरीले काराागारबाट बाहिर निकालेर सुरक्षाका लागि राखेको छ । उनीहरुलाई कारागारबाट बाहिर निकालेपछि आन्दोलित कैदीबन्दीहरु शान्त भएकाछन् ।

‘कारागार भित्र होहल्ला भएपछि हामीले चौकीदारसहित १४ जनालाई बाहिर निकालेर राखेका छौँ,’ जेलर पोखरेलले भने, ‘१४ जनालाई बाहिर निकालेपछि कारागारभित्रको माहोल शान्त भएको छ । १४ जनाको हकमा भित्र बस्ने वातवरण नहुने भएपछि उनीहरूलाई अन्यन्त्र कारागारमा सरुवा गरी पठाउने तयारी गरिएको छ ।’ १४ जनालाई कुन कारागारमा पठाउने निर्णय भने भइनसकेको उनले बताए ।