नेपालगन्ज २३ कार्तिक : नेपालगन्जबाट बेपत्ता भएकी भनिएकी निर्मला कुर्मीको मृत्यु भइसकेको भेटिएको छ । प्रहरीले अनुसन्धानको सिलसिलामा भारतीय पक्षसँग समन्वय गर्दा उनको १४ चैत २०७६ मा मृत्यु भएको प्रमाण भेटिएको हो ।
रुपैडिया नाकाबाट १५ किलोमिटर टाढा पर्ने जगन्नाथपुरको बलहामा उनको मृत्यु भएको विवरणको प्रमाणित प्रतिलिपि स्थानीय ग्राम पञ्चायत अधिकारीले शनिबार नेपाल प्रहरीलाई पठाएका छन् ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख श्यामकृष्ण अधिकारीका अनुसार कुर्मीले २०६९–०७० सालतिर भारतीय नागरिक अर्जुन कुर्मीसँग विवाह गरेको पनि भेटिएको छ । प्रहरीले अर्जुनसँग पनि बयान लिएको छ ।
‘उनी निर्मलाको गाउँमा काम गर्दा रहेछन्, त्यहीक्रममा विवाह भएको र भागेर भारत भएको खुलेको छ’ अधिकारीले भने, ‘भारत गएको केही वर्षपछि मृत्यु भएको देखिन्छ ।’ प्रहरीले उनीहरुले विवाह गरेको र मृत्यु भएको वेलाको फोटो पनि प्राप्त गरेको छ ।
प्रहरी स्रोतका अनुसार अर्जुनले श्रीमती निर्मलाको ‘कालगती’ले मृत्यु भएको बताएका छन् । तर, जग्गा चाहिँ झुक्यालमा पारेर हडपिएको उनले बताएका छन् । अर्जुनसँगै प्रहरीले तत्कालीन पञ्चायत अधिकारीलाई पनि बुझ्नका लागि नेपाल बोलाएको थियो ।
कुर्मीको अपहरण तथा शरीर बन्धक गरी हत्या गरिएको भन्दै २० चैत २०७७ मा ८ जनाविरुद्ध किटानी जाहेरी परेको थियो । प्रहरीले सामान्य सोधपुछ मात्रै गरेको थियो, विस्तृत अनुसन्धान हुन सकेको थिएन । घटनामा प्रहरी अनुसन्धान चित्त बुझ्दो नभएको भन्दै नेपालगन्जबाट २० दिन पैदल हिँडेर न्याय माग्दै काठमाडौं आइपुगेका थिए ।
काठमाडौंमा प्रदर्शन गरिरहेका बेला प्रहरीले मानवअधिकारकर्मी रुबी खानलाई बहुविवाहको मुद्दामा पक्राउ ग¥यो । त्यसविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट प¥यो र न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले रिहा गर्न आदेश दियो । त्यसपछि उनी आमरण अनशनसमेत बसिन् ।
सरकारले उनीसँग वार्ता ग¥यो र गृह मन्त्रालयका सह–सचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति पनि बनायो । त्यसपछि खानले अनशन तोडेकी थिइन् ।
समितिले प्रतिवेदन बुझाएपछि त्यसकै आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले सोमबार किटानी जाहेरीमा उल्लेखित ७ जनालाई सोमबार पक्राउ गरेको छ । तीमध्ये एक जनालाई भने वृद्ध अवस्थाका कारण बोलाएका बेला उपस्थित हुने गरी छाडिएको छ । पूर्वसभासद बादसाह कुर्मी यसअघि नै हाजिर भएर छुटेकाले पक्राउ परेका छैनन् ।
मानवअधिकारकर्मी रुबी खानले चाहिँ अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी हत्या गरिएको मुद्दामा प्रहरीले मुख्य अभियुक्तलाई संरक्षण गरेको बताउँछिन् । ‘यस्तो गम्भीर मुद्दामा हाजिरी जमानीमा छाड्ने भन्ने कसरी हुन्छ ? पूर्वसभासद्लाई पक्राउ नगर्नुको कारण उनलाई राज्यको संरक्षण हुनु हो’ खानले भनिन्, ‘मुलुकी फौजदारी अपराधसंहिता अनुसार पनि उनलाई फेरि पक्राउ गरेर अनुसन्धान गर्न सकिन्छ ।’
कागजबारे पनि छानबिन होस् : खान
हालै प्रहरीले पाएको भनिएको कागजबारे पनि छाविन हुनुपर्ने उनले बताइन् । ‘हाम्रीले आन्दोलन गर्नुअघिसम्म प्रहरीले यो कागज किन ल्याएन ? अहिले मात्र यो कागज कसरी आयो ?’ खान प्रश्न गर्दै भन्छिन्, ‘कागजमाथि पनि आवश्यक जााच र छानबिन हुनुपर्छ ।’
आन्दोलन हुने वित्तिकै फटाफट कागज आउनु रहस्यमय भएको उनले बताइन् । ‘हामीले जाहेरीमा चार जना अभियुक्तको नाम खुलेको थिएन भनेका थियौं, अर्जुन पनि तिनै मध्येको एक हुन्’ उनी भन्छिन् । उनले निर्मला भारत गएको र विहे गरेको भन्ने विषयमै विश्वास नभएको बताइन् । अनलाईनखबरबाट साभार गरिएको