रुपैडिहाबाट रियल जुसको बट्टाभित्र ड्रग्स राखेर तस्करी


रुपैडिहाबाट रियल जुसको बट्टाभित्र ड्रग्स राखेर तस्करी

नेपालगन्ज २६ कार्तिक : भारतीय बजार रुपैडिहाबाट रियल जुसको बट्टाभित्र लागुऔषध लुकाएर आउँदै गर्दा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएकोछ । प्रहरीले सुर्खेतका बबिन शाहीलाई लागुऔषध कोरेक्स र नाइट्रोभेटसहित पक्राउ गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१५, जमुनाहा नजिकबाट प्रहरीले शाहीलाई दुई लिटर कोरेक्स र १५ ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरेको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–३ का ३० वर्षीय शाही लागुऔषध कोरेक्स र नाइट्रोभेट ट्याब्लेट लिन बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहा पुगेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

रियल जुसको बट्टाभित्र राखेर कोरेक्स ल्याएका थिए । रुपैडिहाबाट शाही हिँड्दै नेपालगन्ज प्रवेश गरेका थिए । उनले एक हातमा ५ किलो चिनी र अर्को हातमा जुसको बट्टा बोकेका थिए । प्रहरीले शंका लागेर जाँच गर्दा जुसको बट्टाभित्र कोरेक्स फेला परेको जमुनाहा प्रहरीका इन्चार्ज मिनबहादुर विष्टले जानकारी दिए ।

शाही यातायात समितिका कर्मचारी रहेको बुझिएको छ । सहजै आवतजावत हुने भएकाले यस क्षेत्रका लागुऔषध कारोबारीहरु सहजै रुपैडिहा पुगेर लागुऔषध बोक्ने गरेको पाइन्छ । प्रहरीले उनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अघि बढाएको जनाएकोछ ।