जनकपुरमा हिन्दू र मुस्लिम समुदायविच झडप, प्रशासनद्वारा निषेधाज्ञा जारी

झडपमा सुरक्षाकर्मीसहित ३ जना घाईते


जनकपुरमा हिन्दू र मुस्लिम समुदायविच झडप, प्रशासनद्वारा निषेधाज्ञा जारी

नेपालगन्ज २७ कार्तिक : प्रदेश– २ को अस्थायी राजधानी जनकपुरधाममा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेकोछ । छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीयबीच भएको विवादले शनिबार उग्र रूप लिएपछि अवस्था तनावपूर्ण बन्दा प्रशासनले निषेधाज्ञा लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकाको देवपुरा रुपैठा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

हिन्दू र मुस्लिम समुदायबीच झडप भएर सम्प्रादायिक सद्भावमा खलल पुग्ने गतिविधि भइरहेको भन्दै प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले शनिबार निषेध आदेश जारी गरेका हुन् । उक्त क्षेत्रमा शनिबार दिउँसो २ बजेदेखि आईतबार राति १० बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ ।

‘आज केही उच्छृङ्खल व्यक्ति तथा समूहहरुले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठा भन्ने ठाउँमा सम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस हुलहुज्जत गरिरहेको बुझिएकोले तत्कालको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै तपसीलका चारकिल्लाभित्र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम कुनै प्रकारको भेला जुलुस, प्रदर्शन, घेराउ, र्याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी मिति २०७८/०७/२७ गते दिउँसो २ः०० बजे देखि २०७८/०७/२८ गते राति १०ः०० बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरिएको छ,’ निषेध आदेशमा उल्लेख छ । आदेश उल्लंघन गर्ने जो सुकैलाई प्रहरीले कानून बमोजिम कारबाही गर्नसक्ने जनाइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

छठ पर्वको दिनदेखि उक्त स्थानमा हिन्दू र मुस्लिम समुदायबीच विवाद बढेको थियो । त्यसपछि सम्प्रादायिक सद्भावमा खलल पुग्ने गतिविधि बढेको भन्दै प्रशासनले निषेध आदेश जारी गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर–२० मा रहेको देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीयले अवरोध गरेपछि यो विवाद सुरु भएको थियो । सोही विषयलाई लिएर शनिबार हिन्दूबादी संगठनको समूह जनकपुरधामको नगर प्रदर्शन गर्दै रुपैठा पुगेपछि अवस्था तनावपूर्ण बनेको हो ।

स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले सयौँ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ भने झडपको क्रममा दुई जना प्रहरीसहित तीन जना घाइतेसमेत भएका छन् । झडपमा एक सशस्त्र प्रहरी, एक जनपद प्रहरी र एक जना महिला समेत गरी तीन जना घाइते भएको प्रहरीको भनाइ छ । प्रहरीले एक दर्जनभन्दा बढी अश्रुग्याँस प्रहार गरेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए ।