एकादशी मेलाका तीर्थालु बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु


एकादशी मेलाका तीर्थालु बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

सांकेतिक तस्विर

ओखलढुंगा २९ कार्तिक : एकादशी मेलाका लागि तीर्थालु बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएकोछ ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ बुलडाँडामा एकादशी मेलाका तीर्थालु सवार प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।

जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएकोछ । तीन जनाको घटनास्थलमै र एक जनालाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

ओखलढुंगा प्रहरीका अनुसार मृत्यु हुनेमा ३५ वर्षीया मिठुमाया मगर, १६ वर्षीया तुलसा मगर र खगेन्द्र मगर रहेका छन् । एक जनाको सनाखत भइसकेको छैन । उनीहरू सिद्धिचरण नगरपालिका–१० बेतिनीका स्थानीय हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर रहेका चार जनालाई उपचारका लागि मुस्ताङ एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएकोछ ।

च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको जिप आज बिहान सुनकोशी गाउँपालिका–९ बुलडाँडामा दुर्घटना भएको हो । ककनीमा एकादशी मेला भर्न जिल्लाका अधिकांश ठाउँबाट मानिसहरू जाने गर्दछन् ।