गमगढी आगलागी : आगो निभाउँदा निभाउँदै २१ घर जलेर खरानी भयो


गमगढी आगलागी : आगो निभाउँदा निभाउँदै २१ घर जलेर खरानी भयो

नेपालगन्ज ३० कार्तिक : मुगु सदरमुकाम गमगढी बजारमा भीषण आगलागी हुँदा २१ घर पूर्णरुपमा जलेर खरानी भएको छ । गएराति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको थियो ।
सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा बिहान साढे ४ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।

गमगढी बजारका घरहरु काठैकाठले बनेका र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा लिन कठिन भएको थियो । आगलागीमा मानवीय क्षति भएको छैन । धनमाल कति क्षति भयो भन्नेबारे पनि यकिन विवरण आइनसकेको डिएसपी भट्टराईले बताए ।

दमकल नहुँदा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आगलागी नियन्त्रण गर्न घर भत्काएर ढुङ्गा, माटो फालेर आगोलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

दमकल नभएकै कारण २१ घरपरिवार घरबारविहीन भएका छन् । प्रशासनकाअनुसार घरबारविहीन परिवारलाई नजिकैको आफन्तकोमा राखिएको छ । जिल्ला प्रशासन कार्यालयले आगलागीका कारण करोडौंको क्षति भएको अनुमान गरेको छ । यद्यपि, पूर्ण विवरण आएको छैन ।

Kids Festival 2022
kanti aarogya hospital

यसैबीच, कर्णाली प्रदेश सरकारले मुगु सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगरबार एक विज्ञप्ति जारी गर्दै क्षतिको विवरण संकलनपछि प्रदेश सरकारले तत्काल राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् ।

‘तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छु, स्थानीय प्रशासनको सिफारिसको आधारमा प्रदेश सरकारले तत्कालै राहत प्याकेज घोषणा गर्ने जानकारी गराउँदछु,’ मुख्यमन्त्री शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।