बाँकेबाट ३ वर्षमा २१६ बालिका हराए


बाँकेबाट ३ वर्षमा २१६ बालिका हराए

सांकेतिक तस्विर

नेपालगन्ज १० मंसिर : बाँकेमा ३ आर्थिक वर्षमा २ सय १६ जना बालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले उपलब्ध गराएको त्रिवर्षीय तथ्याङ्क अनुसार यस्तो डरलाग्दो तथ्य बाहिर आएको हो ।

उक्त तथ्यांक अनुसार आर्थिक वर्ष ०७६/७७ देखि चालु आर्थिक वर्षसम्म ७ सय ४८ जना हराएकाछन् । हराउनेमा बालिका मात्रै २८.८७ प्रतिशत छन् । नेपालगन्ज उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख शोभा शाहले हराउने महिलाहरु अधिकांश जोखिममा रहेको बताउँछिन् ।

‘प्रहरीमा सुरुमा हराएको जाहेरी दिन्छन् । फेला परेको भनेर कसैले खबर गर्दैनन् । कति त भेटिँदैनन्’, प्रमुख शाहले अगाडी थपिन, ‘हराएका बालिकालाई बेचबिखनको खतरा हुन्छ । कति बालविवाहका कारण घरबाट भाग्छन् । परिवारले हराएको जाहेरी दिन्छन् । कति त सानो उमेरमा नै धेरै कमाउने महत्वाकांक्षा बोकेर घरबाट भाग्छन् । जसरी हराए पनि सबै जोखिममै हुन्छन् ।’

प्रहरीले आपतकालीन अवस्थामा उद्दार गरेकामध्ये महिला र बालिकाको संख्या धेरै नै छ । तीन आर्थिक वर्षमा एक सय ८१ जनालाई उद्धार गरिएकोमा एक सय नौ जना त महिला र बालिका छन् । जुन कूल उद्धार गरिएका महिलाको ६०.२२ प्रतिशत महिला र बालिकाको रहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

महिलाको संख्या ५९ र बालिकाको संख्या ५० रहेको छ । जिल्लामा तीन वर्षको अवधिमा एक हजार पाँच सय ३८ वटा घरेलु हिंंसाका घटना प्रहरीमा उजुरी परेका छन् । ०७६/७७ मा पाँच सय १८, ०७७/७८ मा ७ सय ३८ र चालु आर्थिक वर्षमा २ सय ८२ वटा उजुरी परेका थिए ।