जाजरकोट बस दुर्घटना : ज्यान गुमाउने आमाछोरीसहित ५ जनैको पहिचान खुल्यो

गम्भीर घाइतेलाई हेलिकोप्टरबाट नेपालगन्ज ल्याउने तयारी


जाजरकोट बस दुर्घटना : ज्यान गुमाउने आमाछोरीसहित ५ जनैको पहिचान खुल्यो

File Photo

नेपालगन्ज १२ मंसिर : जाजरकोटको भेरी नगरपालिका–१३ कुदुमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउने ५ जनाको पहिचान खुलेकोछ ।

बाँकेको नेपालगन्जबाट रुकुम राडि बजार गइरहेको उक्त बस आज राति जाजरकोटको कुदुमामा बस दुर्घटना भएको हो । दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ ।

ना६ख २७५७ नम्बरको बस आज राति साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ कुदुमा दुर्घटना हुदाँ रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ की २४ वर्षीया सन्ध्या मल्ल शाही र उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–३ करुवाका २५ वर्षीय शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली र सप्तरीका ४० वर्षीया गंगाराम यादवको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ । यादव जाजरकोटकै दीपेन्द्र आधारभूत विद्यालयमा कार्यरत कर्मचारी हुन् ।

दुर्घटनामा २५ जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बस दुर्घटनाको कारण खुलेको छैन । चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।