मेलम्चीमा बाघ आतङ्क : हप्तादिनमै चार पशुचौपाया खायो, त्रसित स्थानीयबासी घरभित्र बस्न बाध्य


मेलम्चीमा बाघ आतङ्क : हप्तादिनमै चार पशुचौपाया खायो, त्रसित स्थानीयबासी घरभित्र बस्न बाध्य

सिन्धुपाल्चोक १६ मंसिर : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ । बाँदर, दुम्सी, बदेंल आतङ्कबाट हैरानी सहँदै आएका यहाँका नागरिकलाई बाघ लगायत अन्य वन्यजन्तुले सताउन थालेपछि स्थानीय चिन्तित भएका हुन् ।

गए राती एउटा लैनो भैँसी खाएको बाघले एक हप्तामा गोठमा बाँधिरहेकै अवस्थामा गोरु, बाख्रा, गाई लगायत अन्य घरपालुवा पशुहरू खाएपछि किसानहरू चिन्तित भएका हुन् । बाघ गाउँमा पस्न थालेपछि स्थानीय समसाँझै घरभित्र बस्न बाध्य छन् ।

मेलम्ची ९ ज्यामिरे लगायत आसपासका क्षेत्रमा यतिखेर बाघले आतङ्क मच्चाएको स्थानीय सुनिल कुमार भण्डारीले जानकारी दिए । धेरैका गाई, भैँसी र बाख्रा बाघले खाएको छ, विद्यालय जाने स–साना बालबालिका पनि बाघले आक्रमण गर्ने हो कि भन्ने त्रास अभिभावकमा उब्जिन थालेको उनले बताए ।

‘गोठमै आएर गाईबस्तु खान थालेपछि मानिसमा त्रास बढ्नु स्वाभाविक भएको’ स्थानीयले बताएका छन् । घरघरमा बाघ आउन थालेपछि विद्यार्थी विद्यालय जान समेत डराइरहेका छन् । घरदेखि विद्यालय जान धेरै डर लाग्ने गरेको विद्यार्थी सुजन भण्डारीले गुनासो गरे ।

Kanti Aarogya Hospital Nepalgunj

‘बाघ कतै लुकेर बसेको छ की भन्ने डरले दिउँसो पनि हिँड्न गाह्रो छ ।’ भण्डारीले भने ‘साँझ ६्÷७ बजे गाउँमा हिँडडुल गर्न सकिँदैन, स्थानीयले वन्यजन्तु गाउँमा आउन नदिन तरबार लगायत अन्य उपाय गर्दै आए पनि सफल नभएको उनीहरूको भनाई छ ।

सम्पत्तिको नाममा रहेको एउटा भैँसी पनि बाघले खाएपछि मेलम्ची ९ का ओम बहादुर भण्डारी चिन्तित छन् । उनी समस्याको दीगो समाधानको लागि स्थानीय तह लगायत सरोकारवाला निकायसँग गुहार मागिरहेका छन् । वडा अध्यक्ष कमल बहादुर खड्काले क्षतिको विवरण हेरेर राहतका लागि तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने बताए । उनले दिगो समाधानका लागि पहल गरिने बताए ।