नेपालगन्जका क्यासिनोमा नेपालीको ओइरो, चुपचाप बाँके प्रहरी


नेपालगन्जका क्यासिनोमा नेपालीको ओइरो, चुपचाप बाँके प्रहरी

नेपालगन्ज २० मंसिर : नेपालगन्जमा सञ्चालन रहेका क्यासिनोहरुमा जुवा खेल्न नेपालीको ओइरो लाग्ने गरेको छ । नेपालको कानून अनुसार, नेपाली क्यासिनोमा विदेशी नागरिकलाई मात्र जुवा खेल्न अनुमति छ । तर, नेपालीमाथि भने बन्देज लगाइएको छ ।

कानूनलाई लत्याउँदै नेपालगन्जमा सञ्चालनमा रहेका क्यासिनोहरुले जुवा खेल्न नेपालीलाई प्रवेश गराइरहे पनि बाँके प्रहरी भने मुकदर्शक बनेको छ । नेपालगन्जमा करिब आधा दर्जन क्यासिनो सञ्चालनमा छन् । यहाँ सञ्चालित क्यासिनोहरुले निर्वाध रुपमा नेपाली प्रवेश गराई जुवा खेलाईरहेपनि प्रहरी भने चुपचाप रहेको छ । प्रायःक्यासिनोहरुमा पूर्व प्रहरीहरु जागिरे रहेका छन् । प्रहरी, प्रशासनमा सेटिङ्ग मिलाउन सजिलो होस् भनेर क्यासिनोमा पूर्व प्रहरी अधिकृतहरुलाई राख्ने गरिएको पाईएको छ ।

बाँके प्रहरीलाई नेपालगन्जका क्यासिनोमा जुवा खेल्न नेपाली प्रवेश गरिरहेका छन् भन्ने थाहा नभएको भने होइन । तर, बाँके प्रहरी ती क्यासिनोमा न छापा हान्न चाहन्छ, न जुवा खेल्नेलाई पक्राउ गर्न नै चाहन्छ । सेटिङ्गमा चलेका छन् नेपालगन्जका क्यासिनो र बाँके प्रहरी । यसका थुप्रै प्रमाण सेतोखरीसंग रहेकोछ । क्यासिनोमा जुवा खेल्न गइरहेका एक खेलाडीले भने ‘प्रहरी सबै सेटिङ्गमै चलेको छ, विभिन्न ठाउँबाट आउने क्यासिनोमा जुवा खेल्ने गरिरहेका छन्, कुनै रोकटोक छैन ।’

तत्कालिन बाँकेका एसपी विक्रमसिंह थापाले यहाँका क्यासिनोमा पटक–पटक छापा हान्ने र जुवा खेलिरहेका नेपालीलाई पक्राउ गरि सञ्चालक र जुवा खेल्ने दुबै विरुद्ध अदालतमा मुद्दा समेत चलाएका थिए । त्यस बेला चर्चित क्यासिनो सञ्चालक सुरेन्द्र सिंहलाई एसपी थापाले नेपालगन्ज एयरपोर्टबाटै पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बाँकेमा लगेर थुनेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

त्यसबेला क्यासिनोमा जुवा खेल्ने र खेलाउनेहरु प्रहरीसंग डराउथे । तर, अहिले बाँके प्रहरी नथपाए झैं गरि चुपचाप बसेपछि क्यासिनो सञ्चालकले पनि निर्वाधरुपमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेका छन् भने खेल्ने नेपालीहरुपनि मस्तसंग खेलीरहेकाछन् । जिल्ला प्रहरी कार्यालय बाँकेले अहिलेसम्म कुनै क्यासिनोमा पनि छापा हानेको छैन । निर्वाध रुपमा क्यासिनोले नेपाली प्रवेश गराईरहँदापनि बाँके प्रहरी टुलुटुलु हेरिरहेको छ ।

नेपालगन्जको स्टार लाईट होटलमा लक्की स्टार क्यासिनो, स्नेह होटलमा वेलिज क्यासिनो, सिद्धार्थ भ्यू होटलमा ज्याकपोट गेमिङ्ग क्लब, होटल सोल्टीमा माजोङ क्यासिनो र ड्रिमल्याण्ड होटलमा ह्याप्पी आवर क्यासिनो सञ्चालन छन् । यी क्यासिनोहरुमा सजिलै नेपाली प्रवेश गरि जुवा खेल्ने गर्दछन् । होटल सोल्टिको माजोङ क्यासिनो बाहेक सबै क्यासिनो मिनि क्यासिनो गेमिङ्ग हुन् ।

एक क्यासिनोका कर्मचारीले सेतोखरीसँग भने –‘नेपालगन्जका क्यासिनोका २५ प्रतिशत ग्राहक त नेपाली नै हुन्छन् । आउँछन् मज्जाले जुवा खेल्छन् अनि जान्छन् ।’ ती मध्ये होटल स्नेह भित्र रहेको वेलिज क्यासिनो र होटल सिद्धार्थ भ्यूमा रहेको ज्याकपोट गेमिङ्ग क्यासिनोमा बढी नेपाली नागरिक जुवा खेल्न प्रवेश गरिरहेको स्रोतले जनाएको छ । क्यासिनोमा जुवा खेल्न जाने कतिपय नेपालीले त क्यासिनो जानलाई भारतीय आधार कार्ड समेत बनाएका छन् ।

यहाँका क्यासिनोमा काठमाण्डौं, झापा, नेपालगन्ज, बुटवल, चितवन लगायतका शहरबाट जुवा खेल्न आउने गरेको स्वयम् क्यासिनोकै कर्मचारी बताउँछन् । नेपालगन्जकै केही व्यक्ती त यहाँका क्यासिनोमा जुवा खेलेर सम्पत्ति सक्काएर सडकमा आइसकेका छन् । सिद्धार्थमा रहेको क्यासिनोले त प्रहरी चेकिङ्मा आए क्यासिनोमा जुवा खेलिरहेका नेपालीलाई भित्रै लुकाउने ठाउँ समेत बनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता मधुसुदन न्यौपानेले क्यासिनोको नियमित चेकजाँच र निरीक्षण गरिरहेको बताए ।

उनले सेतोखरीसंग कुरा गर्दै भने–‘नियमित रुपमा बाँके सिडियो साप र एसपी सापले समेत निरीक्षण गरिरहनुभएकोछ । सूचना पाए लगत्तै निरीक्षणमा पुग्छौं नेपाली खेलिरहेको पाएमा समातेर कारबाही गर्छौं ।’

प्रहरी नायब उपरीक्षक न्यौपानेले अगाडी भने–‘क्यासिनोमा नेपालीहरु नै जुवा खेल्न गएको पाइदैन । यदाकदा गएको थाहा पाउने वित्तिकै कारबाही गरिहाल्छौं । हिजो (सोमबार) मात्रै सिद्धार्थ भ्यू होटलमा रहेको ज्याकपोट क्यासिनोबाट एकजनालाई नियन्त्रणमा लिएका छौं ।’

सूचना पाएको खण्डमा हामीले कारबाही गरिरहेका छौं । क्यासिनोमा आउनेहरुको विभिन्न कागजातहरु हामीले हेर्ने गर्छौं । कतिपयले भारतीय आधारकार्ड बनाएर पनि आउने गर्छन् । उप्रवक्त न्यौपानेले भने–‘क्यासिनोमा नेपालीलाई प्रवेश रोक लगाउन सादा पोशाकमा प्रहरी समेत खटाएका छौं । यसो गर्दा पनि बेलाबखत नेपाली प्रवेश गरेको पाइन्छ तर यसैका लागि २४ सैं घण्टा प्रहरी खटाउने भन्ने हुँदैन ।’