प्रमुख प्रशासकीय अधिकृत कुट्नेलाई कारबाही गरियोस् : राजनैतिक दल

खजुरा गाउँपालिका चुपचाप बसेकोमा भर्त्सना, घटनालाई गम्भीरतापूर्वक नलिइए आवश्यक कदम चालिने


प्रमुख प्रशासकीय अधिकृत कुट्नेलाई कारबाही गरियोस् : राजनैतिक दल

नेपालगन्ज २३ मंसिर : आफ्नै कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालमाथि गरिएको कुटपिटको घटनाप्रति विभिन्न राजनैतिक दलले गम्भीर ध्यानाकर्षण जनाएका छन् ।

नेपाली काँग्रेस खजुराका सभापति रमेश सिंजाली, नेकपा(माओबादी केन्द्र)का सचिव धनराम ओली र नेकपा(एकिकृत समाजबादी) खजुराका अध्यक्ष जीतबहादुर खत्रीले बिहीबार संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति ध्यानाकर्षण जनाएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत खराललाई बुधबार कार्यालयको हाताभित्रै बिहान साढे १० बजेतिर हातपात गरिएको थियो । उक्त घटनाप्रति घोर

भर्त्सना
 
 

गर्दै कुटपिटमा संलग्न ब्यक्तिलाई यथाशिघ्र कडाभन्दा कडा कारबाही गर्न विज्ञप्तीमार्फत ध्यानाकर्षण गराएको छ ।

खजुराका राजनैतिक दलले विज्ञिप्तीमार्फत प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिकाको कार्यकक्षमै लगेर कुटपिट गर्दासम्म पनि गाउँपालिकाको तर्फबाट कुनै प्रतिक्रिया नआउनु, कुटपिटमा संलग्नलाई चिनेको छैन भन्नु र कुटपिटको घटनालाई समाचार नबनाउनु भनि केही सञ्चारकर्मीलाई धम्की दिनु जस्ता कार्यको जोडदार भत्र्सना गरेकोछ ।

यस विषयलाई गम्भीरतापूर्वक नलिइएमा हामी राजनैतिक दलहरुका तर्फबाट आवश्यक कदम चालिने र उक्त कदमबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितीको जिम्मेवार स्वयम स्थानीय प्रशासन हुने भन्दै चेतावनी समेत दिइएको छ ।

विज्ञप्तीमा अगाडी भनिएकोछ –‘जुनसुकै ब्यक्तिलाई जतिसुकै जघन्य आरोप लागेको भएता पनि त्यो आरोप लगाउने ब्यक्ति(पीडित भनिएको) ले सम्बन्धित निकायमा न्यायका निम्ति जाहेरी दिने र घटेको भनिएको घटना उपर सत्य, तथ्य भए नभएको विषयमा छानविन गरि दोष्ी उपर कारबाही गर्ने अधिकार प्राप्त राज्यका विभिन्न निकायहरु हुदाँ हुदै सो तर्फको कुनै पनि प्रक्रिया नअपनाई अराजक झुण्डहरुले गरेको हर्कत(सिसिटिभी फुटेजमा देखिएको दृष्यलाई) हेर्दा सहजै भन्न सकिन्छ । जुनसुकै बहानामा जो सुकैले गरेको भएता पनि भिडतन्त्रका माध्यमबाट गर्न खोजिएको यो हर्कत पनि अर्को जघन्य अपराध भएकोे, यस विषयसंग जोडिएर आएको गाउँपालिकाको बजेटबाट बजेट विनियोजन गरि पिकनिक गएको, पिकनिकमा महिला कर्मचारी माथी यौन दुव्र्यवहार गरिएको भनि लगाइएको आरोप र केही अराजक ब्यक्तिहरुले कार्यालय समयमै कार्यालयमा कार्यरत राष्ट्र सेवक कर्मचारी माथि गरिएको हातपातको घटनामा संलग्न ब्यक्तिहरुलाई यथासक्य चाँडो कानूनी दायरामा ल्याउने गरि सम्बन्धित निकायहरुबाट चाडो छानविनको प्रक्रिया अगाडी बढाई दोषीलाई कडा भन्दा कडा कारबाही गरियोस भनि माग गर्दछौं ।’

प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत प्रदिप सुनारमाथी गाउँपालिकामै कार्यरत एक महिला कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । यही मंसिर १७ गते शुक्रबार वनभोजका लागि टिकापुर गएका बेला आफुमाथी यौन दुर्व्यवहार भएको उनको आरोप थियो । यौन दुर्व्यवहारको घटनासँग जोडेर युवाहरुले प्रमुख प्रशासकीय अधिकृतमाथी हातपात गरेको बताइएको छ ।

महिला कर्मचारीले घटनाको पाँच दिनपछि मात्र यौन दुर्व्यवहारको आरोप लगाउनु, युवाहरु गाउँपालिकामै पुगेर प्रमुख प्रशासकीय अधिकृतमाथी हातपात एवम् दुर्व्यवहार गर्नु, गाउँपालिकाले कुनैपनि प्रतिक्रिया नदिनु र महिलाले यौन दुर्व्यवहार भएको विषयमा जाहेरी दिन आनाकानी गर्नुले खजुरा गाउँपालिकाको काण्ड झन्–झन् रहस्यमय बन्दै गएको छ ।