नेपालगन्ज स्थित नेपाल–भारत सीमा जमुनाह ।
नेपालगन्ज २३ मंसिर : बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमानाका जमुनाह हुदैँ यो आर्थिक वर्षमा ७ सय १९ महिला तथा बालबालिका सम्पर्क विहीन भएको तथ्य बाहिरीएकोछ ।
मानव बेचबिखनबिरुद्ध काम गर्ने नाकामा रहेका संघ संस्था र प्रहरी कार्यालयमा खोजतलासका लागि परेको निवेदनको संख्या हो ७१९ । उनीहरु कुनै न कुनै बहानामा नाका पार गरि परिवारसंग सम्पर्कबिहीन भएका हुन् ।
यसरी सम्पर्कविहीन हुनेहरुमा धेरैजसो आफूखुशी हिँडेको भए पनि सानो संख्या चाहिँ घरपरिवारकै सहमतिमा भारत तथा खाडी मुलुक पुगेको पाइन्छ । लामो समयसम्म आफ्नो मान्छे सम्पर्कमा नआएपछि उनीहरुले खोजीका लागि मानव बेचबिखनविरुद्ध काम गर्ने संघसस्था तथा प्रहरीमा उजुरी दिने गर्छन् । निवेदन दिने घरपरिवारकै सदस्य छन् ।
माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाले चालु आर्थिक वर्षमा माइती नेपालमा ३६७, प्रहरी कार्यालयमा ३४८ र साना हातहरुमा चार जना गरी जम्मा ७१९ वटा खोजतलासको निवेदन परेको जानकारी दिए ।
माइती नेपालमा परेको ३७६ वटा निवेदनमा ७१ जना बाँके जिल्लाका हुन् । जसमध्ये बाँकेमा नेपालगन्ज उपमहानगरपालिकाका १५, कोहलपुरका २०, जानकीका २, राप्तीसोनारीका ६, बैजनाथ र खजुराको १३–१३ र डुडुवा गाउँपालिकाका दुईवटा निवेदन छन् ।
खोजतलासका लागि निवेदन परेकोमध्ये ४७ जनाको भारत तथा खाडीमुलुकबाट सकुसल उद्धार गरिएको छ । भारत तथा खाडीमुलुकबाट शक्ति समूहले २८ जना, माइती नेपालले १६ जना र आफन्त नेपालले तीन जनाको उद्धार गरेका हुन् । उद्धार गरिएका मध्ये बाँकेका नौ जना हुन् ।
पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको स्वरुप बदलिएको मानवबेचबिखन विरुद्ध काम गरिरहेकाहरु बताउँछन् । माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाका अनुसार वैदेशिक रोजगार र शैक्षिक गतिविधि, झुठो विवाह, मनोरञ्जन, मानवअंग बेचबिखन, गर्भाशयको बेचबिखन सहितका लागि मानव ओसारपसार हुने गरेको छ । गाउँघरमा पुगेर गरिब, अशिक्षितलाई मात्रै होइन, दलालले शिक्षित र उच्च घरानाका महिला तथा बालिकालाई पनि बेचबिखन तथा ओसारपसार गरिरहेकाछन् ।
मानव बेचबिखन तथा ओसारपसारमा अभियुक्तलाई कारबाहीको दायरामा ल्याउन गाह्रो हुने गरेको छ । पीडितले अन्तिममा बयान फेरिदिदाँ कानूनी अड्चन खडा हुदाँ ठूलो समस्या हुनेगरेको बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपाने बताउँछन् । प्रहरी र वकिलले राम्रो अनुसन्धान गरेर मुद्दा प्रक्रिया अघि बढाए पनि अन्तिममा पीडितले नै बयान फेरिदिने गरेको उनले अनुभव सुनाए ।
नेपालगन्ज नाकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काम गर्ने आधा दर्जन संघ संस्था तथा प्रहरीका युनिटले काम गरिरहेपनि मानवबेचविखनका घटनामा कमी आउन सकेको छैन बरु बेचविखनको स्वरुप फेरिँदा बर्सेनी ठूलो संख्यामा महिला तथा बालिका भारत तथा तेस्रो मुलुकमा पुगेर सम्पर्कबिहीन बन्ने गरेकाछन् ।