File Photo
नेपालगन्ज २४ मंसिर : एकै परिवारका पाँच जनाको हत्या भएको घटनाका अभियुक्तलाई जिल्ला अदालत बाँकेले सफाई दिएको छ । १६ वर्षअघि बाँकेको नेपालगन्ज स्थित सुन व्यापारी दीपक हेमकारको परिवारका ५ सदस्यको हत्याका आरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई प्रमाण नपुग्ने र शङ्काको सुविधा पाउने भन्दै अदालतले सफाइ दिएको हो ।
२०६२ साल फागुन २३ गते सुन व्यापारी हेमकारको परिवारका पाँच जनाको हत्या गरी लुटपाट समेत भएको घटनाका मुख्य आरोपी मध्येका एक हुन– किशोरीलाल सोनी । सोनी मृतक दीपक हेमकरका ससुरा समेत थिए ।
जिल्ला अदालतका न्यायाधीश पूर्ण प्रस्ताव बास्तोलाको इजलासले हत्याका अभियुक्त सोनीलाई सफाइ दिने फैसला गरेको हो । अदालतले यस्तो आदेश दिएपछि प्रहरीको वर्षौ लामो अनुसन्धान र मेहनत खेर गएकोछ ।
गएको कार्तिक ७ गते भएको फैसलाको पूर्णपाठ केही दिनअघि मात्रै प्रमाणीकरण भएको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टले जानकारी दिए । जिल्ला न्यायाधीश बास्तोलाले शङ्काको भरमा जाहेरी आएको र त्यसलाई पुष्टि गर्ने प्रमाण अभियोजकले पेस गर्न नसकेको भन्दै शङ्का रहे पनि शङ्काको सुविधा अभियुक्तले पाउने भन्दै सफाइ दिएको हो ।
२०६२ साल फागुन ११ गते नेपालगन्जको सदरलाइनस्थित आफ्नै घरमा सुन व्यापारी ३२ वर्षीय दीपक हेमकर, उनकी हजुरआमा ८२ वर्षीय गुलावदेवी हेमकर, बुवा ६२ वर्षीय जगदेव हेमकर, आमा ४५ वर्षीया सीतादेवी हेमकर र उनीहरूको घरमा काम गर्ने १५ वर्षीय रामशनिश्चर चौधरीको घाँटी रेटेर हत्या भएको थियो ।
१४ वर्ष पुरानो उक्त हत्याकाण्डमा प्रारम्भिक चरणमै हत्या परिवारकै सदस्यबाट भएको हुनसक्ने निष्कर्ष प्रहरीले निकालेको थियो । घटना भएको दुई वर्षपछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै मृतक दीपक हेमकरकै ससुरा किशोरीलाल सोनी र श्रीमती दीपा सोनीविरुद्ध अभियोगपत्र दायर गरेको थियो । दीपा भने फरारको सूचिमा रहेको बताइएको छ ।
यतिमात्र होइन यसअघि २०७६ असार २७ गते हेमकार परिवार हत्याका आरोपी सोनीलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त ईजलासले सोनीलाई रिहा गर्ने आदेश दिएको थियो ।
पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र बाँके प्रहरीको विशेष टोलीले आरोपी किशोरीलाललाई भारतको लखनऊबाट २०७५ असोज २५ गते पक्राउ गरी नेपाल ल्याएको थियो । त्यसलगत्तै केही समय अनुसन्धान गरी बाँके प्रहरीले जिल्ला अदालत बाँकेमा हत्या तथा डकैतीको मुद्दा दायर गरेको थियो ।
सरकारवादी भएको उक्त मुद्दामा जिल्ला अदालत बाँकेले २०७५ साल कार्तिक १४ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । यद्यपि आरोपी किशोरीलाल सोनीले भने आरोप अस्वीकार गर्दै आएका थिए ।
त्यसपछि सोनी उच्च अदालत दाङमा निवेदन दिँदै साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाउन माग गरेका थिए । उच्च अदालत दाङको नेपालगन्ज इजलासले २०७५ साल पुस २६ गते जिल्ला अदालत बाँकेकै आदेशलाई सदर गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो । तर, त्यस आदेशविरुद्ध सोनीले २०७५ चैत ५ गते सर्वोच्च अदालतमा कारागार बाहिरैबाट मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए ।
यो पनि पढ्नुहोस्