वनको जग्गा अतिक्रमण गरेको भन्दै आगो लगाएर ५ गोठ भत्काइयो


वनको जग्गा अतिक्रमण गरेको भन्दै आगो लगाएर ५ गोठ भत्काइयो

नेपालगन्ज २७ मंसिर : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ र ५ मा पर्ने बभनपुर्वा सामुदाियक वनको जग्गा अतिक्रमण गरि निर्माण गरिएको गोठ आगो लगाएर भत्काइएकोछ ।

सामुदायिक वनका अध्यक्षका पति भिखु वर्मा नेतृत्वको टोलीले गोठ भत्काएका हुन् । स्थानीयले वर्षौदेखि बसिरहे पनि बिना कुनै सूचना गोठ भत्काइएको जनाएका छन् । डिभिजन वन कार्यलय नेपालगन्जले सामुदायिक वन किनारमा अतिक्रमण गरेर बनाइएका गोठ जलाउने र खाँबो काट्नु अघि जानकारी दिनुपर्ने जनाएको छ ।

डुडुवा गाउँपालिकाको वडा नम्बर ४ र ५ मा पर्ने बभनपूर्वा सामुदायिक वनको किनारमा मिलनचोक, छग्रहवा, हात्तीसार बालापुरका स्थानीयले गोठ निर्माण गरेका गोठमध्ये २ वटामा आगो लगाएर र ३ वटा गोठका खाँबाहरु काटेर भत्काइएको बालापुरका स्थानीय बाबादिन यादवले बताए ।

कम्दीको मिलन चोकमा पनि यही वनको जग्गा अतिक्रमण गरेर घर बनाइएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

डुडुवा गाउँपालिका उपाध्यक्ष साइदा बानो भन्छिन्, मिलनचोकका ठूल्ठूला घर भत्काउ अनि मात्र साना झुपडी भत्काउँदा सबैलाई समान न्याय हुन्छ । उनले भनिन् –‘सूचना बिना एक्कासी घोठ भत्काएको र जलाउनु राम्रो काम भएन ।’

राप्ती नदीले जग्गा कटान गरेकाले स्थानीयले उक्त सामुदायिक वन किनारमा २०७० सालदेखि गोठ बनाएर बसेका थिए । पूर्व सूचनाविना गोठमा आगो लगाएर भत्काएपछि किसानलाई आफ्नो पशुचौपाया कहाँ राख्ने चिन्ताले सताएकोछ ।