मृत भेटिएका एसएसपी यादवमाथि हुँदैथ्यो कारबाही, हेडक्वार्टरले मागेको थियो स्पष्टीकरण


मृत भेटिएका एसएसपी यादवमाथि हुँदैथ्यो कारबाही, हेडक्वार्टरले मागेको थियो स्पष्टीकरण

नेपालगन्ज ९ पुष : संघीय प्रहरी इकाई भैरहवामा शुक्रबार मृत भेटिएका एसएसपी सुशीलकुमार यादवलाई प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने तयारी गरेको थियो । अपहरण तथा शरीर बन्धक घटनामा संलग्न अमर टण्डनलाई उन्मुक्ति दिएको आरोपमा यादवसहितका प्रहरी अधिकारीलाई कारबाही प्रक्रिया सुरु भइसकेको थियो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार छानविन समितिले यादवसहित बहालवाला १५ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । एसएसपी भीम ढकाल संयोजकत्वमा बनेको छानविन समितिले अपहरणकारीलाई उन्मुक्ति दिने प्रक्रियामा प्रहरीको संलग्नता देखिएको निष्कर्ष निकाल्दै विभागीय कारबाही सिफारिस गरेको थियो ।

२०६४ माघ २९ गते टण्डनको समूहले बुटवलका ६२ वर्षीय टीकाराम अर्याललाई अपहरण गरेको थियो । तर, उक्त घटनामा प्रहरीले टण्डनमाथि अनुसन्धान नै नगरी म्याद गुजारेको खुलेपछि लिखित स्पष्टिकरण मागिएको प्रधान कार्यलय स्रोतले जानकारी दिएको छ ।

स्पष्टीकरणपछि विभागीय कारबाहीबारे निर्णय गर्ने तयारी थियो । छानबिन समितिले टण्डनलाई उन्मुक्ति दिन २० प्रहरीको संलग्नता देखाएको थियो । तीमध्ये ५ जनाले अवकाश पाइसकेका छन् । छानबिन समितिले टन्डनलाई उन्मुक्ति दिनमा पूर्व आईजीपी ठाकुर ज्ञवालीको समेत संलग्नता देखाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

तत्कालीन प्रहरी नायव उपरीक्षक जगतमान श्रेष्ठ, प्रहरी निरीक्षक नवीन क्षेत्री, तत्कालीन डीएसपी (पूर्व आईजीपी) ठाकुरप्रसाद ज्ञवाली, तत्कालीन प्रहरी निरीक्षक सोमबहादुर थापा र डीएसपी राजकुमार बैदरवारले अवकाश पाइसकेका छन् । तर, बाँकी १५ जनालाई विभागीय कारबाही गर्न समितिको सिफारिस छ । समितिले तत्कालीन डीएसपी सुशीलकुमार यादव (हाल एसएसपी) लाई पनि विभागीय कारबाही सिफारिस गरेको थियो ।

यस्तै एसपी दानबहादुर कार्की, एसएसपी कृष्णकुमार महत, एसएसपी दीपक थापा, एसपी दिनेशकुमार आचार्य, एसपी दिलिप घिमिरे, एसपी महेन्द्र खड्का, एसपी मुकुन्द मरासिनीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
यस्तै डीएसपी पवनकुमार भट्टराई, डीएसपी केशव भट्टराई, डीएसपी डिलबहादुर मल्ल, डीएसपी भीमलाल भट्टराई, डीएसपी प्रतीत सिंह राठौर लगायतसँग स्पष्टीकरण मागिएको थियो । -नेपालखबरबाट