एकहप्तादेखि हिउँमा फसेका १४ मजदूरको हेलिकप्टरबाट उद्धार गरिँदै


एकहप्तादेखि हिउँमा फसेका १४ मजदूरको हेलिकप्टरबाट उद्धार गरिँदै

सांकेतिक तस्विर

नेपालगन्ज १९ पुष : सडक खन्न गएका मजदुर हिउँमा फसेपछि हेलिकप्टरबाट उद्धार गरिन लागेकोछ । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका– २ पेल्माको घुसदुङमा सडक निर्माणमा खटिएका १४ मजदुर हिउँमा फसेका हुन् ।

उनीहरु काम गर्ने ठाउँमै पुष १४ र १५ गते बाक्लो हिउँ परेका कारण उनीहरू एक सातादेखि ओडारमा फसेका हुन् । हिउँमा फसेकाहरूमा १० जना पुरुष र ४ जना महिला रहेको बताइएकोछ । साथमा लगेको खाद्यान्न पनि सकिएपछि उनीहरूलाई अहिले उद्धारको तयारी भइरहेको छ ।

रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाका अनुसा हिजो आईतबार बेलुकामात्रै उनीहरु फसेको खबर आएकाले उद्धारको पहल भइरहेको बताए ।

‘हिउँमा फसेका मजदुरको उद्धारका लागि गृहमन्त्रालय, प्रदेश मन्त्रालयमा हेलिकोप्टर पठाउन आग्रह गरिएको छ र आजै उहाँहरू बसेको ठाउँ पहिचान गरेर उद्धार गर्छौं ।’ उनका अनुसार मजदुर उद्धारका लागि सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका– २ पेल्माको घुसदुङमा गाउँपालिकाबाट परेको योजनाअन्तर्गत बाटो निर्माणमा ती १४ जना मजदुर खटिएका थिए ।

जसमा वडा नम्बर– २ पेल्मा गाउँका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानि बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेबी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुन ओढारमा कष्टप्रद दिन बिताइरहेका छन् ।