सात लाख तिरेर बिरामीको हेलिकोप्टरमार्फत उद्धार


सात लाख तिरेर बिरामीको हेलिकोप्टरमार्फत उद्धार

हुम्ला २० पुष : केही दिन अगाडिदेखि नाक र कानसम्बन्धी समस्याले थला परेका दुई बिरामीको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो ।

उत्तरी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै गाउँमा उपचार सम्भव नभएपछि उनीहरूले आफ्नै खर्चमा काठमाडौँबाट हेलिकोप्टर मगाएर थप उपचारका लागि जिल्ला बाहिर लिइएको आफन्त रेछिङबहादुर लामाले बताए ।

उनले भने, ‘आफ्नै निजी खर्चमा बिरामीको उद्धार गरेका हौँ, रु सात लाख ५० हजार महँगो हवाई भाडा तिरेर उपचारका काठमाडौँ लगिएको छ । गाउँघरमा उपचार सम्भव नहुने भएपछि थप उपचारका लागि काठमाडौँ लगिएको हो ।’

काठमाडौँबाट नाइनएन–एजेआरको समिट एयरलाइन्सको फिस्टेल हेलिकोप्टरबाट उनीहरूलाई उद्धार गरिएको हो । पचास वर्षीय तामाङको नाकबाट निरन्तर रगत बगिरहनुका साथै गाउँमा उपचार हुन नसकेपछि हेलिकोप्टर मगाइएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

आईतबार राति नाकबाट रगत बग्न नरोकिएपछि थप उपचारका लागि हेलकोप्टर मगाएर जिल्ला बाहिर लगिएको हो । पच्चीस वर्षीय लामालाई कानमा समस्या भएपछि थप उपचारका लागि काठमाडौँ लगिएको हो । बिरामीसँगै अन्य दुई बिरामी कुरुवासमेत गएको जानकारी प्राप्त भएको छ ।

उत्तरी हुम्लाका नागरिक बिरामी हुँदा आफ्नै खर्चमा महँगो हवाई भाडा तिरेर बिरामीको उद्धार गर्दै आएका छन् । हिउँद याममा यस क्षेत्रमा अत्यधिक चिसो हुनुका साथै स्वास्थ्यकर्मी कार्यालयमा नियमित नहुँदा सिधै काठमाडौँबाट हेलिकोप्टर मगाएर महँगो खर्चमा बिरामीले उपचार गर्नुपर्ने बाध्यता छ ।

यातायात सुविधा नहुँदा हुम्लीले बिरामी हुँदा हेलिकोप्टर र हवाईजहाजको भर पर्नुपर्ने अवस्था छ । बिरामी आफैले हेलिकोप्टर रिजर्भ गर्दा रु सातदेखि १० लाखसम्म भाडा तिरेर उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । -रासस