नेपालगन्जको रामजानकी मन्दिरबाट मुर्तीसहित विभिन्न सामान चोर्ने असरफ पक्राउ


नेपालगन्जको रामजानकी मन्दिरबाट मुर्तीसहित विभिन्न सामान चोर्ने असरफ पक्राउ

नेपालगन्ज २२ पुष : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझी स्थित राम जानकी मन्दिरबाट मुर्ती लगायतका विभिन्न सामान चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बुधबार राती करिब १२ बजेको समयमा धम्बोझी स्थित राम मन्दिरबाट मुर्तीसहितका सामाग्री चोरी भएको थियो ।

मन्दिरबाट मुर्तीसहितका सामाग्री चोरी भएको खबर पाए लगत्तै वडा प्रहरी कार्यालय नेपालगन्जको प्रहरी टोलीले मुर्तीसहितका सामाग्रीसहित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझी निवासी २५ वर्षिय असरफ बागवानलाई पक्राउ गरेको हो ।

पक्राउ परेका असरफबाट भगवानको मुर्ती ३ थान, नाग देवताको मुर्ती २ थान, घण्टी ५ थान, तामाको लोटा ४ थान, त्रिशुल थान ३ थान, आरती १ थान, पाला छोप्ने ढक्कन ८ थान, पाला थान २ थान, टिका राख्ने भाँडा १ थान, फलामको सिक्रि १ थान तथा चोरी कार्यमा प्रयोग गरिएको सानो आरी १ थान र रिन्च १ थान बरामद गरेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

यसअघि बाँके प्रहरीले नेपाल–भारत सीमा नाका जमुनाहबाट बेवारिसे अवस्थामा रहेको मुर्ती बरामद गरेको थियो । बेवारिसे अवस्थामा रहेको उक्त मुर्ती बुधबार प्रहरीले बरामद गरेको हो ।

बेवारीसे अवस्थामा रहेको मुर्ती जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएकोछ । उक्त मुर्तीको बारेमा आवश्यक अनुसन्धान समेत भई रहेको बाँके प्रहरीले जनाएकोछ ।

यस्तै बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२१ पुरैनाबाट ब्राउनसुगरसहित एकजनालाई नियन्त्रणमा लिएकोछ । पक्राउ पर्नेमा फुल्टेक्रा निवासी २१ वर्षिय प्रमोद सोनखर रहेका छन् । उनका साथबाट कालो प्लाष्टिकमा बेरी राखेको २४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद भएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।

यसअघि बुधबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० बाट प्रहरीले भन्सार छली चोरी पैठारी गरी लैजादैं गरेको अन्दाजी एक लाख ८१ हजार तीस मूल्यको लत्ता कपडा, जुत्ता, सुपारी बरामद गरेकोछ । बरामद सामान आवश्यक कारबाहीका लागि बिहीबार नेपालगन्ज भन्सार कार्यालय पठाएको बाँके प्रहरीले बताएकोछ ।