फत्तेपुर गाउँमा बाघ पसेको हल्ला मात्र हो : प्रहरी


फत्तेपुर गाउँमा बाघ पसेको हल्ला मात्र हो : प्रहरी

नेपालगन्ज २५ पुषः बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ स्थित फत्तेपुर गाउँमै बाघ पसेको हल्ला फैलिएपछि स्थानीय बासिन्दा आतंकित बनेकाछन् । बाघको आक्रमणबाट शनिबार ज्यान गुमाएकी राप्तीसोनारी–६ फत्तेपुर हब्रहवा निवासी ३० वर्षीया चाँदनी थारुको घर नजिकै बाघ आएको हल्ला केहीबेर अघि एकाएक फैलिएको थियो ।

गाउँमा बाघ पसेको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक वसन्त गौतम घटना स्थलमा पुगेकाछन् । बाघ आएको भन्ने स्थानमा रहेका प्रहरी निरीक्षक गौतमले यहाँ बाघ आएको वा गाउँमा बाघ पसेको भन्ने कुनै प्रमाण भेटिएको छैन ।

सेतोखरीसंग टेलिफोनमा कुरा गर्दै उनले भने–‘बाघ आएको हल्ला एक्कासी फैलिँदा स्थानीय त्रसित बनेकाछन् । तर, गाउँमा बाघ पसेको यकिन पुष्टि भएको छैन ।’ उनले भने हामीले बाघ आएको कुनै प्रमाण फेला पारेका छैनौं । कसैले पनि बाघलाई देखेको प्रमाण छैन । घटना स्थल वरपर बाघ वा त्यस्तै वन्यजन्तुको कुनै छाप निशान देखिएन । बाघ नभएर कसैले आफै बाघ आएको वा बाघ जस्तो मानेर बाघ गाउँमै पसेको भन्ने हल्ला फैलाएको हुनसक्छ । यद्यपी हामी अनुसन्धान गरिरहेका छौं ।

बाघले शनिबार चाँदनीको ज्यान लिएको थियो, भने यसअघि बिहीबार पनि राप्ती सोनारी ४ पर्सोना की ५३ वर्षीया लिला बिष्टको बाघको आक्रमणबाटै मृत्यु भएको थियो । बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको ज्यान गइसकेको छ । यसअघि राप्ती सोनारी १ गाभर र नरैनापुरमा एक÷एक जनाको मृत्यु भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

बाघले विगत एक हप्तादेखी राप्तीपारीस्थित बैजापुर, बिनौना र फत्तेपुरको जंगलभित्र मान्छे र पशु चौपायामाथी निरन्तर आक्रमण गर्दै आएको छ । बाघको श्रृंखलाबद्ध आक्रमण नरोकिएपछि राप्तीपारीका स्थानीय अहिले निकै त्रसितमा छन् ।

बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले विगत तीन दिनदेखी राप्तीपारी क्षेत्रमा दुई वटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ । बाघले आतंक मच्चाइरहेको स्थान राष्ट्रिय तथा सामुदायिक वन क्षेत्र अन्र्तगत पर्ने भएकाले डिभिजन वन कार्यालय बाँकेका कर्मचारी पनि परिचालित भएका छन् ।