बिहिबार, माघ ६, २०७८   ०२:१०:२८

गुलरियामा नागरिक स्तरबाट राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पुर्ण कदको शालिक अनावरण


बर्दियाको गुलरियामा नागरिक स्तरबाट निमार्ण गरिएको पृथ्वीनारायण शाहको पुर्ण कदको शालिक । तस्विर : दीपक शर्मा /सेतोखरी

गुलरिया (बर्दिया) २७ पुष : पृथ्वी जयन्तीका विषयमा कहि विरोध तथा कहि समर्थनका पक्षमा बहस चलिरहेका बेला बर्दियाका नागरिक स्तरबाट राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पुर्ण कदको शालिक अनावरण गरिएको छ ।

प्रदेश नम्बर– २ का पुर्व प्रदेश प्रमुख राजेश झा अहिराजले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानलाई गलत व्याख्या गर्दै वर्तमान राजनीतिक दल तथा केही व्यक्तिहरुले राष्ट्र र नेपाली जनताप्रति विश्वासघात गरिरहेको बताउँदै शालिक अनावरण गरे ।

३०० औं पृथ्वी जयन्तीको अवसरमा बर्दियाको गुलरियामा पृथ्वीनारायण शाहको पुर्ण कदको शालिकको अनावरण गदै अहिराजले पृथ्वीनारायण शाहले दिएको दिव्य उपदेशलाई नेपाली राजनीतिक दलले व्यवहारमा उतार्न नसकेका कारण देश यो अवस्थामा पुगेको बताए ।

उनले भने–‘शाहले नेपालका विभिन्न जातजाति, धर्म, वर्गलाई साथमा लिएर नेपाल एकिरण अभियानमा लागेका हुन्, उनका दिव्य उपदेशलाई पालना गर्न सके आज देशले समृद्धिको मुहार फेर्न सक्थ्यो ।’

नागरिक स्तरबाट निर्माण गरिएको सो पृथ्वी नारायण शाहको पुर्णकदको शालिक निर्माणका लागी करिब १० लाख रुपैयाँ खर्च भएको बताउँदै नागरिक अगुवा मणी शर्माले पृथ्वीनारायण शाहको योगदानको विषयमा चर्चा गर्दै धर्म र सँस्कृतिसंग जोडिएको हँुदा पृथ्वीनारायाण शाहको योगदान आजको लागी पहिलो आवश्यकता भएको बताए । राष्ट्रप्रति इमान्दार भएर काम गर्न शाहको दिव्य उपदेशबाट शिक्षालिन दलका नेताहरुलाइ सुझाव समेत उनले दिए ।

यसैगरी समाजसेवि तथा शालिक निर्माण कार्यका अगुवा दिनेशप्रसाद श्रेष्ठले पृथ्वीनारायण शाहले आज यो मुलुक नजोगाइदिएको भए नेपालीको कुनै अस्तित्व नरहने भन्दै राष्ट्र निर्माता र एकताका शुत्रलाई नसम्झने हो र इतिहासलाई तोडमोड गरिएको खण्डमा नेपाल मात्र होइन नेपालीको समेत अस्तित्व नरहने बताए ।

सो शालिक अनावरण कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्यहरु गीता बस्नेत सुर्य बहादर सिंह, ऋषिराज देवकोटा, नेकपा एमालेका गुलरिया नगर इन्चार्ज अमरबहादुर खड्का, लोसपाका केन्द्रिय सदस्य केशव यादव लगायतकाले पृथ्वीनाराण शाहको योगदानका विषयमा चर्चा गरेका थिए ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर–८ स्थित वाइपास रोडमा अवस्थित गोलपार्कमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पित्तलको नागरिक स्तरबाट यसरी पुर्णकदको शालिक निर्माण गरी अनावरण गरिएको पहिलो पटक हो ।

शालिक निर्माणका लागी गुलरिया नगरपालिका वडा नम्बर–८ निवासी त्रिलोकजंग शाह र भरतजंग शाहले करिब १६ कठ्ठा जमिन दान गरेका छन् ।

यसैबीच, पृथ्वी जयन्तीका अवसरमा बाँकेमा विभिन्न कार्यक्रम गरि मनाइएकोछ । राप्रपा, नेपाल शिवसेना, ठकुरी सहयोग सञ्जाल र ठकुरी पत्रकार समाज नेपाल लगायतका विभिन्न संघसंस्थाले छुट्टाछुट्ै कार्यक्रम गरि मनाएकाछन् ।