गस्तीमा निस्केका सेनाका जवानलाई ध्रुवेले कुल्चेर मार्यो


गस्तीमा निस्केका सेनाका जवानलाई ध्रुवेले कुल्चेर मार्यो

नेपालगन्ज २ माघ : केही वर्षदेखि शान्त देखिएको हिंस्रक जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गणमा कार्यरत अमल्दार गुप्तबहादुर थापाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्रमण गरी कुल्चिएको थियो । हात्तीले कुल्चिएपछि घाइते भएका जवानको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार राति ११ः२० बजे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार बागलुङको फिम्ती गाउँपालिका–४ घर भई खड्गदल गणमा कार्यरत ३५ वर्षीय थापा शनिबार साँझ ६ बजे निकुञ्ज सुरक्षार्थ साइकल गस्तीमा निस्किएको समयमा उनलाई निकुञ्जमै जंगली हात्ती ध्रुर्वेले आक्रमण गरेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको कोर इलाका ध्रुव क्षेत्रमा अचानक आएर हात्तीले आक्रमण गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘ध्रुवेले अघिल्लो दिन पनि त्यता बबाल मच्चाइरहेको थियो । गाउँमा निस्किएर पोल ढाल्ने, धान तान्ने गरेको थियो’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले भने, ‘साँझपख निकुञ्जको नाकामा कुर्न जाँदा खेरी हात्तीसँग झम्काभेट भएछ । हात्तीले ढाडमा कुचेछ ।’ हात्तीले कुल्चिएपछि जवानको ढाड भाँचिएको थियो ।

ध्रुवेले पाँच वर्षअघि नेपाल र भारतका विभिन्न स्थानमा १५ जनाको ज्यान लिएको थियो । ध्रुवे आक्रामक बन्न थालेपछि निकुञ्ज नजिक बस्ती भएका र निकुञ्जको बाटो भएर भरतपुर माडी आवतजावत गर्ने नागरिकमा त्रास बढेको छ ।