बाँके प्रहरीद्वारा ६ महिनामै ९ करोड बढि राजस्व संकलन

नेपालगन्ज र कोहलपुर क्षेत्रमा मौलायो अबैध यौन धन्दा, रोकिएन लागुऔषधको कारोबार


बाँके प्रहरीद्वारा ६ महिनामै ९ करोड बढि राजस्व संकलन

नेपालगन्ज ४ माघ : बाँके प्रहरीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामै ९ करोड बढि राजश्व संकलन गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा मङ्गलबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले चालु आर्थिक वर्षको ६ महिनामै ९ करोड ३९ लाख ९३ हजार ८ सय ७ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको जानकारी दिए ।

उनका अनुसार साउनदेखि पुष मसान्तसम्मको अवधिमा विभिन्न ८ वटा शीर्षकमा गरिएको कारबाहीस्वरुप उक्त राजश्व संकलन गरिएको हो । बाँके प्रहरीले चालु आर्थिक वर्षमा भन्सार चोरी पैठारीबाट ४ करोड ३६ लाख २६ हजार ६ सय ८, सुन तस्कर कारबाहीबाट ३ करोड १३ लाख ९७ हजार ६ सय ७५, ट्राफिक कारबाहीबाट एक करोड १२ लाख ३४ हजार ५ सय, नदीजन्य पदार्थ उत्खनन्बाट ३ लाख ३० हजार रुपैयाँ राजश्व संकलन गरेको हो ।

यस्तै जुवातास कारबाहीबाट ९ लाख ५१ हजार ६ सय १०, काठ तस्कर कारबाहीबाट ६ लाख ५३ हजार ९ सय, क्वारेन्टाईन नगराइएका कुखुरा तथा माछामासुबाट २० लाख र फरार अभियुक्तबाट असुल जरिवाना ३७ लाख ९९ हजार ५१४ रुपैयाँ संकलन गरेको छ । यी शीर्षकबाट संकलन गरिएको कुल राजश्व ९ करोड ३९ लाख ९३ हजार ८ सय ७ रुपैयाँ हुन आउँछ ।

बाँके प्रहरीका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिभित्र भन्सार चोरी पैठारी सम्बन्धी सामानसहित २७ जना तस्करलाई पक्राउ गरि नेपालगन्ज भन्सार कार्यालयमा कारबाही स्वरुप पठाइएकोछ । भने क्वारेन्टाईन नगराइएका कुखुरा तथा माछामासु तस्करीमा संलग्न ७ जनालाई क्वारेन्टाईन कार्यालयमा कारबाहीका लागि पठाइएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै बाँके प्रहरीका अनुसार यही अवधिमा ट्राफिक नियम उल्लंघन गरि सवारी चलाउने २० हजार ५३५ सवारी साधन कारबाहीमा परेकाछन् । भने जिल्लाका विभिन्न स्थानबाट चोरी भएका ३ वटा स्कुटर र ११ वटा मोटरसाईकल बरामद गरि सवारीधनीलाई उपलब्ध गराउनुका साथै सवारी साधन चोरी कार्यमा संलग्न १७ जनालाई कारबाही गरेको बाँके प्रहरीले बताएकोछ ।

फरार अभियुक्त धमाधम पक्राउ

अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका मानिसहरु पक्राउ गर्ने अभियान अन्तरगत बाँके प्रहरीले हालसम्म १३९ जना फरार रहेका अभियुक्तलाई पक्राउ गरि कारबाही अगाडी बढाएको जनाएकोछ । पक्राउ परेका अभियुक्तहरुको कुल कैद समवअधि ६४ वर्ष १० महिना रहेकोछ । यस्तै हालसम्म कुल ५ सय ३७ मुद्दामा कुल ६७४ जनालाई पक्राउ गरि कारबाही गरिएको बाँके प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएकोछ ।

रोकिएन लागुऔषधको कारोबार र ओसारपसार

कोरोना भाइरस संक्रमणका बीच पनि बाँकेमा लागुऔषध कारोबार तथा ओसारपसार मौलाएको पाइएकोछ । पछिल्लो ६ महिनाको अवधिमा बाँके प्रहरीले लागुऔषधसहित कारोबार र ओसारपसारमा संलग्नलाई पक्राउ गरेपछि बाँकेमा लागुऔषधको कारोबार र ओसारपसार नरोकिएको पुष्टि गर्छ ।

प्रहरीका अनुसार ६ महिनाको अवधिमा २६५ ग्राम ६१० मिलिग्राम, ४ किलो ३७५ ग्राम चरेश, ६ हजार मिलिलिटर कोरेक्स, २० ग्राम गाँजा, ३ हजार ५ सय ४३ ट्याबलेट नाईट्राजेपाम र एक हजार ४ सय ३० ट्रमाडोलसहित ८८ जना लागुऔषध कारोबारीलाई पक्राउ गरि कारबाही गरेकोछ ।

यद्यपी बाँके प्रहरीले नेपाल–भारत प्रहरीको समन्वयमा भारतमा समेत लागुऔषधको कारोबार गर्नेलाई ठूलो परिमाणसहित पक्राउ गरि कारबाही गरिएकोले नेपालमा समेत लागुऔषध ओसारपसारमा कमी आएको दावि गरेकोछ ।

नेपालगन्ज र कोहलपुर क्षेत्रमा फस्टाउदैं अवैध यौन धन्दा

बाँके प्रहरीको पछिल्लो ६ महिने कार्य प्रगतिमा बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रमा अबैध यौन धन्दा फस्टाइरहेको पाइएकोछ । नेपालगन्ज तथा कोहलपुर क्षेत्रका विभिन्न होटल एवम रेष्टुरेण्टमा अबैध यौन ब्यवसाय सञ्चालन गरेको आरोपमा ५ वटा होटलसहित १९ जनालाई कारबाही गरिएकोछ ।

बाँके प्रहरी प्रमुख अधिकारीले सो क्षेत्रमा सञ्चालनमा रहेका १६ वटा होटलले आगन्तुकहरुलाई दुख, हैरानी दिनुका साथै अबैध यौन धन्दा चलाएको भन्ने सूचनामाथि छानविन गर्दा ५ वटा होटल र रेष्टूरेण्टका सञ्चालक ५ जना सहित ११ महिला र ८ जना पुरुषलाई कारबाही गरिएको बताए ।

रोकिएन वन्यजन्तुको अङ्गको अबैध ओसारपसार

बाँके प्रहरीले बाँके ट्रान्जिट बनाई अबैधरुपमा वन्यजन्तुको अङ्गको ओसारपसार तथा कारोबार गर्नेलाई समेत कारबाही गरेकोछ । पछिल्लो ६ महिनाको अवधिमा बाँके प्रहरीले ३ थान बाघको छाला, एक थान रेडपाण्डाको छाला, ४ थान भालुको पित्त र २ थान हात्तिको दाँत सहित १० जनालाई पक्राउ गरि आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाएकोछ ।

१२६ जनाको सकुसल उद्धार

बाँके प्रहरीले नेपाल–भारत सीमानाकाबाट १२६ जनाको सकुसल उद्धार गर्न सफल भएकोछ । विभिन्न प्रलोभनमा परि नेपालगन्जबाट भारततर्फ जाँदै गरेका ९२ महिला र ३४ जना पुरुष गरि कुल १२६ जनाको उद्धार गरि सम्बन्धित अभिभावकको जिम्मा लगाइएकोछ ।

६ महिनामा ५ थान बन्दुक बरामद

पत्रकार सम्मेलनमा बोल्दै बाँकेका प्रहरी प्रमुख अधिकारीले वितेको ६ महिनाको अवधीमा बाँकेबाट ३ थान कटुवा पेस्तोल, एक थान एयरपेस्तोल, एक थान भरुवा बन्दुक र त्यसमा लाग्ने ३ वटा छर्रासहित ४ जनालाई कारबाही गरिएकोछ । यही अवधिमा गत वर्ष बाँकेबाट ५ थान भरुवा बन्दुक, ३ थान कटुवा पेस्तोल र १० राउण्ड गोली बरामद बाँके प्रहरीले गरेको थियो ।

हराएको मोवाईल फेला

बाँके प्रहरीका अनुसार सर्वसाधारण नागरिकलाई छिटो छरितो सेवा दिने अभियान अन्तरगत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा हराएका मोवाईल खोजतलास गर्ने कार्यलाई समेत प्राथमिकतामा राखी विभिन्न स्थानमा हराएका मोवाईल खोजलतालस गर्ने क्रममा मोवाईल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क नजकि पूर्णप्रसाद गौतमको गौतम इलेक्ट्रोनिक्स पसलबाट मोबाइल, चेक र नगद समेत चोरी गर्ने नेपालगन्ज–१३ बस्ने नानु खटिक, नन्कउ खटिक र सुमित शर्मालाई पक्राउ गरि चोरि भएको ३६ थान स्मार्ट फोन पूर्णप्रसादलाई फर्काउन सफल भएकोछ ।

यही अवधिमा जिल्लाका विभिन्न स्थानबाट हराएका, चोरी भएका १९ थान स्मार्ट फोन फेला पारि मोबाइल धनीलाई उपलब्ध गराएको बाँके प्रहरीले जनाएकोछ । गत वर्ष यही अवधिमा बाँके प्रहरीले हराएका ५५ मोबाइल फेला पारि मोबाइल धनीलाई उपलब्ध गराएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) श्यामकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) मधुुसुदन न्यौपानेले प्रगति विवरण प्रस्तुत गरेका हुन् । कार्य प्रगति विवरण सार्वजनिक गरिसकेपछि बरामद गरिएको लागु औषध पत्रकारको रहोबरमा नष्ट गरिएको थियो ।