कोभिडकाबीच बाँकेका ‘विद्यालय खुले’, जन्मदर्ता लिएर विद्यार्थी आए


कोभिडकाबीच बाँकेका ‘विद्यालय खुले’, जन्मदर्ता लिएर विद्यार्थी आए

कोरोना विरुद्धको खोप लगाउन लाईनमा लागेका विद्यार्थी ।

नेपालगन्ज १९ माघ : करिब एकमहिनासम्म बन्द भएको बाँकेको विद्यालयमा विद्यार्थी फर्केकाछन् । यसरी विद्यालय आएका केही विद्यालय पोशाकमा थिए त केही पोशाक विनै आएका थिए ।

कोरोना भाइरस संक्रमणकाबीच यसरी विद्यालय आएका विद्यार्थीको साथमा न पाठ्यपुस्तक थियो न त कापीकलम । उनीहरु विद्यालय पठनपाठनका लागि आएका थिएनन् । कठ्याङ्ग्रीने चिसोलाई छिचोलेर लामो समयपछि विद्यालय आएका सबै विद्यार्थीले जन्मदर्ता लिएर आएका थिए ।

जन्मदर्ता लिएर विद्यालय आएका विद्यार्थीहरु सबै लामबद्ध भएर लाईनमा थिए । कारण हो कोरोना विरुद्धको खोप । स्वास्थ्य कार्यालय बाँकेले १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने भएपछि उनीहरु जन्मदर्ता लिएर आ–आफ्ना विद्यालय आएका हुन् ।

स्वास्थ्य कार्यालय बाँकेले आज जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थी (बालबालिका)लाई कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ । लक्षित समूहका बालबालिकालाई खोप लगाउन २ दिनको अवधि छुट्टयाइएकोछ । यसका लागि आज र भोली दुई दिन बाँकेका विद्यालय खोलिएको हो । उनीहरुलाई कोभिड विरुद्धको मोर्डना खोप लगाइँदैछ ।

Kids Festival 2022
kanti aarogya hospital

जिल्लाका अधिकांश विद्यालयलाई खोप केन्द्र स्थापना गरेर खोप लगाउने काम भएकाले पनि लामोसमयदेखि बन्द भएका बाँकेका विद्यालय खुले ।

१२–१७ वर्ष उमेरसमुहका बालबालिकालाई लक्षित गरि सञ्चालन गरिएको खोप अभियानको शुरुवात बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले गरे । नेपालगन्जको धम्बोझी स्थित धम्बोझी उच्च माविमा एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी खत्रीले खोप अभियानको शुरुवात गर्दै लक्षित समूहलाई खोप लगाउन आव्हान समेत गरे ।

कोरोना भाइरस संक्रमणका कारण गत पुष २६ गतेदेखि बाँकेका शैक्षिक संस्था बन्द छन् । सिसिएमसीको सिफारिसमा सरकारले गत पुष २६ गतेदेखि देशैभरका शैक्षिक संस्था माघ १५ गतेसम्मका लागि बन्द गर्ने र भर्चुअल पद्धतीबाट शिक्षण सिकाई जारी गर्ने निर्देशन दिएको थियो ।

सो निर्देशनलाई पालना गर्दै पुष अन्तिम सातादेखि बाँकेका सबै शैक्षिक संस्था बन्द गरिएका थिए । हिजो मङ्गलबार मात्रै जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना संक्रमणको जोखिम अझैं कायमै रहेको भन्दै बाँकेका सम्पूर्ण शैक्षिक संस्था माघ मसान्तसम्म नखोल्न निर्देशन दिएकोछ ।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्शन नरेश श्रेष्ठका अनुसार बाँकेका ८ वटै पालिकामा लगाउने कार्यक्रम रहेकोछ । यसका लागि सम्बन्धि विद्यालय वा स्थानीय तहका स्वास्थ्य शाखा तथा वडाका स्वास्थ्य संस्थाहरुमा उमेर खुल्ने कागजात जन्मदर्ता लिएर खोप लगाउन जान आग्रह गरे ।

उनले भने–‘जिल्लाका करिब दुई सय ४० वटा विद्यालयलाई खोप केन्द्र बनाएर १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकाहरुलाई खोप प्रदान गरिरहेकाछौं । यसका लागि बिद्यालय तथा सो उमेर समुहका बालबालिकाका र उनका अभिभाबकहरुले आ–आफ्ना स्थानीय तहका स्वास्थ्य शाखा र वडाका स्वास्थ्य संस्थाहरुमा सम्पर्क राख्नहुन अनुरोध छ ।’

यसअघि यही माघ १५ गते शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य शाखा विभाग अन्र्तगत आपूर्ती व्यवस्था महाशाखाको रेफ्रिजेरेटर भ्यानबाट बाँके जिल्लाका १२ देखि १७ वर्षसममका बालबालिका लागि ६८ हजार ६ सय ४० डोज मोर्डना खोप नेपालगन्ज आएको थियो । बाँकेमा पहिलो चरणको बुष्टर खोप अभियान यही माघ २ गतेबाट जारी छ ।

थप समाचार

कोरोना विरुद्धको ६८ हजारबढी मोर्डना खोप नेपालगन्ज आयो

माघ मासन्तसम्म बाँकेका शैक्षिक संस्था खोल्न प्रशासनको रोक